दुर्घटना रोक्न स्टिलबार

२०७३ फाल्गुन ३ गते, मंगलवार

काठमाडौं, ३ फागुन । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैंकको करिब रु २० करोडको सहयोगमा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका मुख्य राजमार्गमा स्टिलबार (स्टिल क्रस बेरियर) लगाउने काम भइरहेको छ । विश्व बैंकको सहयोगमा सडक विभाग, वैदेशिक महाशाखा सडक तथा ट्राफिक सुरक्षा योजनाअन्तर्गत् बैतडीको खोडपेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, दशरथचन्द राजमार्गअन्तर्गत् बैतडीको सतबाँझ–झुलाघाट सडकखन्ड र महाकाली राजमार्गअन्तर्गत् बैतडीकै सतबाँझदेखि दार्चुला सदरमुकाम खलंगा जोड्ने सडकखन्डको २६ दशमलव ५ किलोमिटरमा स्टिलबार लगाउने कार्य भइरहेको हो । निर्माणकार्यको ठेक्का पाएको गौरी पार्वती सूर्य जेभी कन्सट्रक्सनले तीनओटैै राजमार्गका दुर्घटना हुनसक्ने क्षेत्रमा स्टिलबार लगाइरहेको छ । खोड्पेदेखि बझाङ सडकखन्डको कुल १०६ किलोमिटर सडकको दुर्घटना बढी हुनसक्ने क्षेत्रमा ११ दशमलव ४५ किलोमिटरमा स्टिलबार लगाउने कार्य सम्पन्न भइसकेको सुपरभाइजिङ कन्सल्टेन्ट (आइओडब्लु) पंकज चन्दले राससलाई जानकारी दिए ।
यस्तै, बैतडीको सतवाँझ–झुलाघाट सडकखन्डको कुल ३७ किलोमिटर सडकमध्ये बढी दुर्घटना हुनसक्ने ४ दशमलव ७ किलोमिटर क्षेत्रमा र सतवाँझ–गोकुलेश्वर दार्चुला सडकखन्डको कुल १२६ किलोमिटरमध्ये बढी दुर्घटना हुनसक्ने १० दशमलव तीन किलोमिटर क्षेत्रमा पनि स्टिलबार लगाउने कार्य भइरहेको उनले बताए ।वि.सं. २०७४ असार मसान्तसम्म सक्ने लक्ष्यअनुसार वि.सं. २०७२ फागुनदेखि सुरु भएको उक्त कार्यमा हालसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेकोे छ । ‘पहाडको बाटो, त्यसैमा पनि सिंगल लेन, साँघुरो बाटोमा बढी दुर्घटना हुने सम्भावना हुन्छ’–आइओडब्लु चन्दले भने–‘स्टिलबार लगाइसकेपछि दुर्घटना न्यूनीकरण हुन्छ ।’ स्टिलबार लगाइसकेपछि चालक होसियार हुनुका साथै आत्मविश्वास बढ्ने से१ख १३३३ ट्रकका चालक धर्मानन्द जोशीले बताए । उनले भने–‘घुमाउरो बाटोमा दुर्घटनाको सम्भावना बढी हुन्छ, स्टिलबार लगाएपछि गाडी चलाउन सजिलो छ ।’ पहाडीसडक, भीर, घुमाउरो अनि सिंगल लेन भएको यी सडकमा नयाँ तथा पहिलोपटक गाडी चलाउने चालक डराउने गरेको र स्टिलबार लगाइसकेपछि त्यो समस्यासमेत हट्ने विश्वास गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका कार्यबाहक इन्चार्ज डिल्लीप्रसाद आचार्यले स्टिलबारले सवारी दुर्घटनाको सम्भावना कम गरेको बताए । उनले भने–‘दिनमा स्टिलबारले सुरक्षा गर्छ भने रातिको समयमा स्टिलबारमा लगाइने रिफ्लेक्सन लाइटले दुर्घटनाको सम्भावना कम हुन्छ ।’ यसका साथै चालकलाई सवारी–साधन चलाउन सहज रहेको र सडक सुरक्षा परियोजनाको यो उत्तमकार्य भएकोसमेत जिल्ला ट्राफिक कार्यालय बैतडीका कार्यबाहक इन्चार्ज आचार्यको भनाइ रहेको छ । स्टिलबार लगाइसकेपछि दुर्घटनामा कमी आउने भएकोले ट्राफिक प्रहरीलाईसमेत सवारी व्यवस्थापनमा सजिलो हुने उनको भनाइ रहेको छ ।
बैतडीको खोडपेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, दशरथचन्द राजमार्गअन्तर्गत् बैतडीको सतवाँझ–झुलाघाट सडकखन्ड र महाकाली राजमार्गअन्तर्गत् बैतडीकै सतबाँझदेखि दार्चुला सदरमुकाम खलंगा जोड्ने सडकखन्डसँगै विश्व बैंकको सहयोगमा सडक विभाग, वैदेशिक महाशाखा, सडक सुरक्षा आयोजनाअन्तर्गत् सुर्खेत, जुम्ला, जाजरकोट र रुकुमको सितलपाटी–मुसिकोट सडकखन्डमा पनि स्टिलबार लगाउने कार्य भइरहेको बताइएको छ ।
यसअघि, विश्व बैंकको सहयोगमा सडक सुरक्षा योजनाअन्तर्गत् कालोपत्रे भएका सडकमा स्टिलबार लगाउने कार्य भइरहेको बताइएको छ । स्टिलबारसँगै ग्याबियनबार लगाउने कार्य पनि सुरु भएको छ ।- रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार