१२ लाखमा विद्युतीय कार
काठमाडौं । हुलास मोटर्सका प्रबद्र्धक सुरेन्द्रकुमार गोल्छाले चीनबाट विद्युतीय कार आयात गरेका छन् । अब नेपालमै मुस्ताङ म्याक्स उत्पादन हुने उद्योगमै विद्युतीय कार उत्पादन गरिनेछ । उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा भइरहेको ‘विराट एक्स्पो’मा हुलास ब्रान्डको विद्युतीय कार विक्रीका लागि राखिएको छ।‘हामीले चीनको एक मोटर कम्पनीलाई यस्तो प्रकारको विद्युतीय कार चाहियो भन्यौँ’, उद्यमी गोल्छाले भने, ‘कार बनुन्जेल हामी चीनमै बस्यौँ । यसको निर्माणमा तीन कम्पनी संलग्न थिए । अब हामी यस्तै कार विराटनगरस्थित आफ्नै उद्योगमा उत्पादन गर्न सक्षम छौँ । ग्राहकले अर्डर गरेको एक महिनाभित्रमा नयाँ विद्युतीय कार उपलब्ध गराउन सक्छौँ ।’ ‘संसारभरि नै पेट्रोलियम पदार्थको खपत कम गर्ने र विद्युतीय ऊर्जा प्रयोग गर्ने लहर चलिरहेको छ । त्यसैले हामीले प्रस्तुत गरेको विद्युतीय कार समयसापेक्ष छ, उनले भने, आजको समयको माग यही कार हो । नेपाल पनि क्रमशः लोडसेडिङमुक्त मुलुक हुँदैछ । यसको माग बढ्ने देखेर उत्पादन सुरु गर्न लागेका हौं ’
विद्युतीय कारलाई पूरा चार्ज गर्न ८ घण्टा लाग्छ । पूरा चार्ज गरेपछि पीचमा १ सय ६० किलोमिटर कुदाउन सकिन्छ । पहाडी बाटोमा भने केही कम दूरी तय हुन्छ । खुल्ला राजमार्गमा कारलाई ६० देखि ६५ को स्पिडमा कुदाउन सकिन्छ । ‘यो कार सिटी टुरका लागि उपयुक्त छ’, गोल्छाले भने, ‘घरपरिवारका सदस्यसित नजिकका ठाउँ जाने, छोराछोरीलाई स्कुल पु-याउने र किनमेलका लागि नजिकको हाटबजार पुग्नेजस्ता काममा यो उपयोगी हुनेछ ।’
कारमा एअर कन्डिसनर, पावर स्टेयरिङ, पावर विन्डोका साथ सेन्ट्रल लकजस्ता सुविधा रहेको र क्यामेराको प्रयोगले ब्याक गर्न सकिने गोल्छाले जानकारी दिए । उनले राम्रोसँग प्रयोग गरेमा ब्याट्री ३ वर्ष टिक्ने उल्लेख गर्दै ब्याट्रीमा एक वर्षको ग्यारेन्टी दिइएको बताए । ब्याट्रीमा पानी हाल्नु नपर्ने हुँदा मेन्टेनेन्स खर्च पनि नलाग्ने उनले बताए । आयात गरिएका ४ मध्ये एउटा कार मेलामा विक्री भएको छ । साढे १३ लाख मूल्य राखिएको कारलाई मेलामा १२ लाखमै विक्री गरिँदैछ ।