प्रदूषण बढ्दो क्रममा

२०७३ फाल्गुन २१ गते, शनिबार

काठमाडौ, २१ फागुन । प्रदूषण मापनका लागि राजधानीको रत्नपार्कमा राखिएको मेसिनको तथ्यांक दुई महिनादेखि बढ्दो क्रममा छ । प्रदूषण मापनका लागि राखिएको प्यारोमिटरले यो साता पार्टीकुलेट म्याटर (पीएम) १० को धुलो ५० माइक्रोन, २।५ का ४४ र पीएम १ को धुलो ४१ माइक्रोन नापेको छ । यो नतिजा दुई महिनाअघिकै बराबर हो । अर्थात गत दुई महिनामा प्रदूषण नियन्त्रणमा सरकारले सिन्कासम्म भाँचेको छैन । पार्टीकुलेट म्याटर (पीएम) धुलोको आकार मापन गर्ने आधार हो । पीएम २.५ भन्दा तलको धुलोले सीधै फोक्सो र रक्तनलीसम्म पुगेर शरीरलाई असर पुर्‍याउने चिकित्सकहरूको भनाइ छ ।
धुलोको राष्ट्रिय मापदण्ड भने २४ घन्टाका लागि पीएम १० को एक सय २०, पीएम २.५ को ४० राखेको छ तर त्योभन्दा दोब्बर धुलो राजधानीमा उड्ने गरेको छ । युरोपमा पीएम २.५ को २५, पीएम १० को ५० माइक्रोग्राम मिटरक्यु मापदण्ड राखिएको छ जुन नेपालको राष्ट्रिय मापदण्डभन्दा आधा हो । प्रस्ट छ, सरकारी निकायको आनाकानी र एकअर्काप्रति दोषारोपण गर्ने प्रवृत्तिले प्रदूषण नियन्त्रणमा सुधार आउन सकेको छैन । योजना आयोगका वातावरण हेर्ने सदस्य प्रभु बुढाथोकी प्रदूषण नियन्त्रणमा चाहेजस्तो उपलब्धि नभएको स्वीकार गर्छन् ।
आयोगले माघ २६ मा वातावरण मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी, खानेपानी सरसफाइ आयोजना कार्यान्वयन निर्देशनालय र खानेपानी तथा ढल निकास विभागका उच्च अधिकारीको सहभागितामा बैठक राखी प्रदूषण नियन्त्रण गर्न निर्देशन दियो ।
समन्वय र सहकार्य नगरी काम अघि बढाउँदा समस्या भएको भन्दै प्रदूषण नियन्त्रणमा सम्बन्धित निकायले कडाइका साथ काम गर्न निर्देशन दिएको बुढाथोकी बताउँछन् ।
आयोगको निर्देशनलाई चासो नदिँदा नतिजा आउन नसकेको र प्रदूषण नियन्त्रण गर्न नसकिएको आयोगको भनाइ छ । उपत्यकाको धुलो नियन्त्रणका लागि राष्ट्रिय योजना आयोगले माघ ५ मा वातावरण विभागका महानिर्देशक जगदीशभक्त श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले १२ बुँदे प्रस्तावसहित आयोगलाई रिपोर्ट पेस गरेको जानकारी समितिका सदस्यसचिव वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले दिए । -अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु