प्रहरीले नै ठगेपछि ..
काठमाडौं , १४ असार -वाणिज्य तथा आपूति व्यवस्थापन विभागले बिहीबार छड्के अनुगमन गर्दा राजधानीमा सन्चालित सुरक्षा निकायका दुई इन्धन बिक्री केन्द्रमा नेपाल प्रहरीले उपभोक्तालाई ठग्ने र नेपाली सेनाले बढी इन्धन दिने गरेको भेटिएको छ । प्रहरी कल्याण कोषको पेट्रोल पम्पले ठगी गर्ने गरेको र सेनाले परिणाम भन्दा बढी दिने गरेको फेला परेको छ । तौलमा ठगी हुन्न र मिसावट रहित इन्धन पाइन्छ भनेर काठमाण्डौंका सवारी धनीहरु सेना र प्रहरीका पेट्रोलपम्पमा इन्धन भर्नका लागी भीड लाग्ने गर्छन । विभागका अनुसार काठमाडौंको नक्सालस्थित प्रहरी कल्याण कोष पेट्रोल पम्पले निर्धारित मात्राभन्दा कम तेल बेचेर उपभोक्ता ठग्ने गरेको फेला परेको छ । प्रहरीले तेल वितरण गर्ने नोजलहरुमध्ये एउटा डिजेल नेजलबाट प्रति ५ लिटरमा ३० मिलिलिटर कम तेल राखिदिने गरेको विभागको अनुगमन टोलीले फेला परेको छ । कम तेल राखिदिने गरेको फेला परेपछि अनुगमन टोलीले उक्त नोजलमा सिलबन्दी गरेको छ । विभागले त्यसरी वितरण गरिएको इन्धनको पनि गुणस्तर परिक्षण गरेपछि मात्र कारबाही प्रक्रिया अगाडी बढाउने बताएकाछ । परिक्षणका लागि डिजेल र पेट्रोलको नमुना नेपाल गुणस्तर तथा नापतौल विभागमा पठाएको वाणिज्य विभागले जनाएको छ । अनुगमनकै क्रममा प्रहरीको एउटा पट्रोल नोजलबाट भने प्रति ५ लिटरमा ७० मिलिटिरसम्म बढी बिक्री गर्ने गरेको पनि भेटिएको छ । त्यसरी बढी परिणाम दिने नोजल तत्काल मर्मत गरी संचालनमा ल्याउन अनुगमन टोलीका पदाधिकारीहरुले व्यवस्थापनलाई निर्देशन दिएको छ । त्यसैगरी अनुगमन टोलीले भद्रकालीमा रहेको रिपू मदिर्नी पेट्रोल पम्पमा पनि छडके जाँच गरेको छ । अनुगमनका क्रममा सेनाका एउटा डिजेल नोजलबाट तोकिएको परिणाम भन्दा अधिक मात्रामा डिजेल वितरण गरेको भेटिएको छ । त्यसरी तोकिए भन्दा बढी इन्धन झार्ने नोजलको तत्काल मर्मत गरी संचालनमा ल्याउन अनुगमन टोलीले सेनाको पम्प सन्चालन गर्नेहरुलाई निर्देशन दिएको छ । समाचार श्रोतका अनुसार तोकिएको परिणाम भन्दा कम र बढी इन्धन बिक्री वितरण गर्ने दुवै पम्पका पदाधिकारीहरुलाई सम्बद्ध सुरक्षा निकायको विभागिय प्रमुखहरुले प्रष्टिकरण सोध्ने बताइएको छ । इन्धन वितरणको जिम्मेवारी लिएको दुवै निकायका पदाधिकारीहरुले घटी र बढी बिक्री भईरहेको अवस्था बारे किन सचेत नभएको भन्ने विषयमा प्रष्टिकरण दिनुपर्ने भएको छ । अनुगमन टोलीले बिहिवार ५ पेट्रोल पम्म छड्के अनुगमन गरेको जनाएको छ ।