अदालदतका कर्मचारीले मुद्दा फाल्ने गरेको खुलासा
काठमाडौं, २ चैत । प्रधानान्यायाधिश सुशीला कार्कीले सर्वोच्च अदालदतका कर्मचारीले मुद्दा निकालेर फाल्ने गरेको खुलासा गरेकी छन् । कानुन व्यवसायी क्लब तथा शंकरलाल केडिया फाउन्डेशनले मंगलबार गरेको सम्मान तथा पुरस्कार कार्यक्रममा प्रधानान्यायाधिश कार्कीले अदालतका कर्मचारीले मुद्दाको फाइल झिक्ने गरेको बताएकी हुन् । ‘एउटै मुद्दा ४० पटक हटेको रहेछ,’ कार्कीले भनिन्, ‘कसरी हट्यो भनेर बुझ्दा अदालतका कर्मचारीले उक्त मुद्दाको पेसी नचढाउने र थुतेर फाल्दा रहेछन् ।
सातवर्ष अघि भ्रष्टाचार कसुरको मुद्दा चलाइएका कांग्रेस नेता गोविन्दराज जोशीको मुद्दा बेन्चमा नर्हेदै हट्दै आएको छ । भ्रष्टाचार सम्बन्धी जोशीको मुद्दा ३० पटक बेन्चले नहेरेको पाइएको छ । १० पटक साप्ताहिक पेसी चढेर हेर्न नभ्याइएको भनेर बेन्चबाट हटाइएको पाइएको उनले बताईन ।
प्रधानान्यायाधिश कार्कीले दैनिक पाँच सय मुद्दामा पेसी चढ्ने गरेपनि भ्रष्टाचारका मुद्दामा कर्मचारीको मिलेमतोमा हट्ने गरेको खुलासा गरीन् । भ्रष्टाचार सम्बन्धी मुद्दा अगाडि बढाउन खोजे वा अदालतको स्वतन्त्रताको कुरा गरे महाअभियोगको बिल्ला झुण्डाउने धारणा उठ्ने उनको भनाइ छ । राजनीतिक दाउँपेचकै कारण न्यायालय स्वतन्त्र भएर काम गर्न नसकेको उनको दाबी थियो । – नयाँपत्रिका दैनिक