माध्यमिक शिक्षा परीक्षा शुरु

२०७३ चैत्र ३ गते, बिहीबार

काठमाडौ, ३ चैत। आजदेखि यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) सुरु भएको छ । आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । यसवर्ष परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार परीक्षाका लागि देशभर एकहजार ९ सय २३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र कार्यालय सहायक गरी ६७ हजार ५ सय ९१ कर्मचारी खटाइएको छ । शिक्षा ऐनको आठौं संशोधनमा माध्यामिक तहको परिक्षा राष्ट्रिय परिक्षा बोर्डले क्षेत्रीय स्तरमा गर्ने उल्लेख भए पनि तयारी नपुगेको भन्दै अन्तिमपटकका लागि परिक्षा नियन्त्रण कार्यालयलाइ माध्यामिक शिक्षा परिक्षा एसइइ परीक्षा गर्ने जिम्मेवारी दिइएको छ ।
यसअघि कक्षा १० को अन्तिम परीक्षालाई एसएलसी परीक्षा भन्ने गरिएकोमा नयाँ व्यवस्था अनुसार कक्षा १२ मा मात्रै एसएलसी परीक्षा हुने भएकाले बिहीबार परीक्षा दिएका विद्यार्थीले २ वर्षपछि फेरी कक्षा १२ मा विद्यालय तहको अन्तिम परीक्षा दिनुपर्ने हुन्छ । तर आजदेखि संचालन हुने परीक्षाको प्रक्रिया भने एसएलसी जस्तै भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परिक्षाका नियम उल्लंघन गरेमा एकलाख रुपैयाँ जरिवाना, ६ महिना जेल वा दुवै सजाय हुन सक्ने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु