चुनाव खारेज अभियान तिब्र

२०७३ चैत्र २८ गते, सोमबार

काठमाडौं, २८ चैत । नेपाल कम्युनिष्ट पार्टीले चुनाव खारेज अभियानलाई तिब्र पारेको छ । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी गुल्मीले चुनाव हुन नदिने भन्दै गाउँपालिकाका बोर्डहरु तोडफोड गरी आफ्नो पार्टीको झण्डा ठड्याएर कार्यालय तालाबन्दी गरेको छ । चुनाव बहिस्कारको रणनीति अनुसार चैत २४ गतेदेखि उनीहरुले सो अभियान सुरु गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी गुल्मीले जिल्लाको मालिका गाउँपालिको अर्खबाङ कार्यालयमा झण्डा गाडेको छ । सामाजिक परिचालक कमल नेपालीका अनुसार विप्लवका कार्यकर्ता एक्कासी आएर कार्यालयमा झण्डा गाडेर पर्चा पम्पेलेट टाँसेको बताए । पार्टीको चुनाव बिरोधी अभियान अन्तरगत मदाने गाउँपालिकाको वडा कार्यालयमा ताला लगाइएको छ । साथै बोर्ड च्यातेर कार्यालयमा पर्चा टाँसिएको स्थानीय बोमबहादुर कुवँरले बताए ।
इलाका प्रहरी कार्यालय पुर्कोटका प्रहरी नायव निरिक्षक अशोक श्रीवास्तवका अनुसार गाउँपालिकाको कार्यालय केहि नभएपनि वडा कार्यालयको बोर्ड फुटालिएको छ भने कार्यालयमा उनीहरुले ताला लगाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी गुल्मीको जिल्ला सचिवालय सदस्य खिम खडकाले दिएको जानकारी अनुसार गुल्मी दरवार गाउँपालिका र चन्द्रकोट गाउँपालिमा पनि बोर्ड तोडफोड गरेर पर्चा टाँसिएको छ । उनले पार्टीको निती अनुसार गाउँपालिकाको बोर्ड तोडफोड तथा तालाबन्दी गरेको प्रष्ट पारे ।

प्रतिक्रियाहरु

[anycomment]