डा. बाबुराम भट्टराई अनशनमा
काठमाडौं,२ वैशाख । नयाँ शक्ति नेपालको संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताहरु अनशनमा बसेका छन । आसन्न स्थानीय तहको निर्वाचनमा आफूहरुलाई दलीय चुनाव चिह्न नदिएर निर्वाचन आयोगले अन्याय गरेको भन्दै उनिहरु अनशनमा बसेका हुन् । दलीय चुनाव चिह्नको माग गर्दै नयाँ शक्तिसहितका दलले रत्नपार्कको शान्तिबाटिकामा रिले अनसन शुरु गरेको अवसरमा बोल्दै नेता भट्टराईले एउटै चिह्नमा चुनाव लड्न पाउनुपर्ने माग गरे । उनले संविधानले तोकेको समयसीमामा तीनवटै निर्वाचन सम्पन्न गर्नुपर्ने पक्षमा आफूहरु रहे पनि सरकारको दबाबमा आयोगले गरेको व्यवस्था विभेदयुक्त रहेको बताए । ८ गतेसम्म हुने अनशनको पहिलो दिन शनिबार नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसहित ६८ दलका मूख्य नेता अनशनमा बसेका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलले मात्र चुनावमा दलीय चिह्न पाउनेगरी निर्वाचन ऐन बनेपछि ६८ दल विरोधमा उत्रिएका छन् ।