विद्यार्थी भर्ना अभियान सुरु
काठमाडौ ३ वैशाख । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ यस वर्षको विद्यार्थी भर्ना अभियान सुरु भएको छ । विद्यालय बाहिर रहेका प्राथमिक उमेर समूहका ५ देखि ९ वर्षका ३.१ प्रतिशत बालबालिका र आधारभूत तह कक्षा १ देखि ८ सम्मका ५ वर्षदेखि १२ वर्ष उमेर समूहका ९ प्रतिशत बालबालिकालाई विद्यालय ल्याउन अभियान सञ्चालन गरिएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले बताए । महानिर्देशक पौडेलले २०७३ सालमा प्राथमिक उमेर समूह ५ वर्षदेखि ९ वर्षका विद्यार्थीको खुद भर्ना दर राष्ट्रिय औसत ९६.९ प्रतिशत रहेको र आधारभूत तह कक्षा १ देखि ८ सम्मको ५ वर्षदेखि १२ वर्ष उमेर समूहको खुद भर्ना दर राष्ट्रिय औसत ९१ प्रतिशत रहेकोे बताए ।
विद्यालय बाहिर रहेका बालबालिकाको खोजी गरी उनीहरुलाई विद्यालयमा ल्याउन र विद्यालयमा टिकाइराख्न भर्ना सुरु भएको हो । जुम्ला, हुम्ला, डोल्पा, मनाङ र मुस्ताङमा भने गत फागुन १ गतेदेखि नै भर्ना अभियान सुरु भएपनि अन्य ७० जिल्लामा भने आजदेखि सुरु भएको विभागले जनाएको छ । भर्ना भएका बालबालिकालाई विद्यालयमा टिकाइराख्न सरकारले निःशुल्क पाठ्यपुस्तक र छात्रवृत्ति वितरण, अभिभावक शिक्षा अभियान, वैकल्पिक सिकाइ केन्द्र, दिवा खाजा, अनौपचारिक प्राथमिक शिक्षा, वैकल्पिक शिक्षा र प्राथमिक बाल शिक्षा जस्ता कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।