चक्रब्यूहमा सरकार

२०७४ बैशाख ३ गते, आईतवार

काठमाडौ, ३ वैशाख । गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका पुष्पकमल दाहाल प्रचण्ड चक्रब्यूहमा फसेका छन् । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन हुन अब जम्माजम्मी २८ दिन बाँकी छ । तर, अहिलेसम्म चुनाव हुने स्पष्ट आधारहरु खडा हुन सकेको छैन । सरकारले मधेशी मोर्चालाई चित्त बुझाउन ल्याएको अर्को संविधान संशोधनको मस्यौदासमेत खेर जाने निश्चित देखिएको छ । जसले गर्दा स्थानीय निर्वाचन तोकिएको समयमा नहुने प्रायः निश्चित भएको छ । उता सर्वोच्च अदालतले माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेललाई सात दिनभित्र गिरफ्तार गर्न निर्देशन दिएको छ । जसले गर्दा सरकारलाई थप संकट परेको छ । चुनावको मुखमा बालकृष्ण ढुङ्गेललाई गिरफ्तार गर्ने आदेश दिएर माओवादी केन्द्रलाई सिध्याउने प्रपञ्च भएको र माओवादी नेतृत्वको सरकारलाई असफल बनाउन र चुनाव हुन नदिने खेलअन्तर्गत यस्तो कार्य भएको माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको बुझाइ रहेको छ । यसरी सरकारलाई चक्रब्यूहमा पारी असफल पार्ने, १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको उपलब्धिलाई नामेट बनाउने षड्यन्त्र हुन थालेको उनीहरुको आरोप छ । – क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु

[anycomment]