रोबोट पत्रकार !

काठमाडौं, १९ वैशाख । पत्रकारितामा एउटा नयाँ आयाम थपिएको छ, त्यो हो ‘रोबोट पत्रकार’ । पछिल्लो समय प्रविधिले नसोचेका उपलब्धि हासिल गरिरहेको समयमा चीनका वैज्ञानिकहरुले कम समयमा छिटो–छिटो लेख्न र पढ्नसक्ने रोबोट बनाएका छन् । ‘चाइना डेली’काअनुसार ‘सिओ नान’ नाम गरेको रोबोट पत्रकारले स्थानीय बसन्त महोत्सवकाबारेमा ३०० शब्दको लेख लेखेर प्रकाशित भएपछि सबैजना आश्चर्यमा परेका छन् । ‘सिओ नान’ (रोबोट)ले लेखेको लेखलाई ‘साउर्थन मेट्रोपोलीस डेली’मा प्रकाशित गरिएको थियो । पत्रकार ‘सिओ नान’ (रोबोट)ले लामो–छोटो लेख तथा समाचार एक सेकेन्डमै ३०० सय शब्दसम्म लेख्नसक्ने बताइएको छ ।
रोबोट निर्माणमा संलग्न पेकिङ विश्वविद्यालयका प्रा.वान सिओजुनले उक्त रोबोटले गहन तथ्यांक विश्लेषण गरेर कुनै भाषागत गल्तीबिना एकदमै छिटो समाचार तथा लेख–रचना लेख्नसक्ने बताए । उनले भने–‘अझै केहि कमजोरी सुर्धान सकिने र तत्काल पूर्णरुपमा पत्रकारलाई विस्थापित गर्न भने रोबोटले सक्दैन । तर, करिब ७० प्रतिशत पत्रकारिताको काम भने यसले सजिलै विस्थापित गरिदिन सक्छ ।’ यस पत्रकार रोबोट सिओ नानबारे यसअघि नै चर्चा चलिसकेको थियो । यसै वर्षको सुरुमा यसलाई सार्वजनिक गरिएको भएपनि यसले आफ्नो काम देखाएको थिएन । अहिले चीनमा केहि सन्चारमाध्यमहरुले ‘सिओ नान’कोे कामको परीक्षण गरिरहेका छन् । तर, ती सन्चारमाध्यमहरुको नाम भने उल्लेख गरिएको छैन । चाइना डेलीकाअनुसार कुनैपनि घटना वा सम्बन्धित समाचारबारे सिओ नानले मानिसलेभन्दा विश्वसनीय ढंगले विश्लेषण गर्नसक्ने उल्लेख गरेको छ । प्रा.वान सिओजुनले अहिले सिओ नानलाई टेलिभिजनको कार्यक्रम र अन्तर्वार्ताको प्रत्यक्ष प्रसारणमा अभ्यास गराइरहेको बताए ।