‘वैद्यले क्रान्तिकारी विचार र राजनीतिलाई अनिर्णयको बन्दी बनाए ‘

२०७४ बैशाख २० गते, बुधबार

काठमाडौँ, २० बैशाख । नेकपा क्रान्तिकारी माओवादी राजनीतिक रुपले गतिहीन र अकर्मण्यतामा फसेको भन्दै सो पार्टीका नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग गर्ने लहर नै चलेको छ । यसैक्रममा मंगलबार मोहन वैद्य किरण नेतृत्वको पार्टीका थारुबान राज्य समितिका नेताहरुले पत्रकार सम्मेलन गरेर वैद्यले क्रान्तिकारी विचार र राजनीतिलाई अनिर्णयको बन्दी बनाएको भन्दै विद्रोह गरेका छन् । परित्याग गर्नेहमा क्रान्तिकारी माओवादी थारुबान राज्य समिति सचिवालय सदस्य खम्बु चन्द समीर यात्री, गणेश केसी, यज्ञबहादुर डाँगी रहेका छन् । ‘उचित ढंगले व्यवस्थापन गर्दै तत्काल सही निर्णय लिनुको सट्टा लामो समयसम्म अनिर्णयको बन्दी बन्ने, अकर्मण्यतामा फस्ने जस्ता समस्याले पार्टीलाई गम्भीर क्षती पु¥याउदै आएको छ ।’ पार्टी परित्याग गर्नेहरुको संयुक्त विज्ञेप्तीमा भनिएको छ । पछिल्लो समयमा पार्टी गतिहीन र अर्कमन्यतामा रहनुका कारण संसदवादी स्थानीय निर्वाचन उपयोगमा पार्टी फसेको उनीहरुले विज्ञेप्तीमा बताएका छन् ।
नेकपा क्रान्तिकारी माओवादी परित्याग गर्ने दाङ्ग तथा थारुवान राज्य समिति सचिवालय सदस्य तथा सह सेक्रेटरी खम्बु चन्द ‘समीर यात्री’, सचिवालय सदस्य गणेश के. सी. र माओवादी केन्द्र निकट अखिल नेपाल लेखक संघ, केन्द्रीय समितिका प्रथम उपाध्यक्ष यज्ञबहादुर डाँगीले संयुक्त विज्ञेप्तीमा भनिएको छ – “आज हाम्रो राष्ट्रिय स्वाधिनता, अखण्डता र सार्वभौमिकता गम्भीर संकटमा पर्दै गएका छन् । नेपाली जनताको बलिदानीपूर्ण जनयुद्ध र जनआन्दोलनप्रति नेतृत्वद्वारा विश्वासघात र गद्दारी गरेर अलपत्र पारिएका राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका मुद्दाहरु अरु जटिल बन्न पुगेका छन् । पुराना संसदवादीहरु सँगै सत्ताको निमित्त विदेशीको दलाली गर्ने होडवाजीमा नयाँ दलालको रुपमा प्रचण्ड–बाबुरामहरु लम्पट हुन पुगेपछि हामी क्रान्तिकारीहरुले विद्रोह गरी क.किरणको नेतृत्वमा पार्टी पुनर्गठन गरेका थियौं ।
राजनीतिक क्रान्ति पूरा भइसक्यो, अब आर्थिक समृद्धिमा लाग्नुपर्छ भन्ने भ्रम दिदै संसदवादमा अवतरित हुन पुगेका प्रचण्ड–बाबुरामहरुको दक्षिणपंथी विचलनलाई चिर्दै नेपाली क्रान्तिको गंम्भीर तयारीमा एकनिष्ठ ढंगले हेलिनुपर्ने आवश्यकताको बीचबाट सिर्जना भएका मतभेद र अन्तरसंघर्षलाई तेतृत्वले ठीक ढंगले व्यवस्थापन गर्न नसक्दा पार्टी पुनः विभाजित हुन पुग्यो । क. किरणसँग सम्बन्ध विच्छेद गरी क. विप्लवको नेतृत्वमा पुनर्गठीत पार्टी कार्यदिशाको विकास सम्बन्धी केही नयाँ सोच अध्ययन र निष्कर्षका साथ क्रान्तिकारी पार्टी निर्माणमा जुट्यो । आठौं महाधिवेशनसम्म आइपुग्दा यो पार्टीले आफ्नो उद्देश्यमा सार्थक परिणाम हासिल ग¥यो ।
यता क. किरण हामी सवैका आदरणीय अग्रज, अभिभावक र कैयौं विषयका ज्ञाता समेत हुनुहुन्छ । क्रान्तिप्रतिको उहाँको निष्ठा र इमान्दारीतामा प्रश्न उठाउने ठाउँ छैन । यस अर्थमा उहाँ हाम्रो क्रान्तिकारी आन्दोलनकै पूँजी हो । उहाँको त्यागपूर्ण जीवन, क्रान्तिप्रतिको अटूट समर्पण, सदावहार क्रियाशीलता, अविरल अध्ययन, चिन्तन र लेखनप्रतिको साधना, सरल जीवनशैली जस्ता कम्युनिष्ट मुल्यहरु हाम्रा लािग प्रेरणाका श्रोत हुन् र हुनुपर्दछ । तर यसका बाबजूद पार्टी नेतृत्वको हैसियतले क.किरणबाट पार्टीलाई ठोस दिशा निर्देश गर्ने, ठोस परिस्थितिको ठोस विश्लेषण गरी ठोस निर्णय लिदै पहलकदमी लिने र राजनीतिक हस्तक्षेप बढाउने जस्ता महत्वपूर्ण विषयमा कमजोर भूमिका देखिदै आयो । अन्तरसंघर्षलाई उचित ढंगले व्यवस्थापन गर्दै तत्काल सही निर्णय लिनुको सट्टा लामो समयसम्म अनिर्णयको बन्दी बन्ने, अकर्मण्यतामा फस्ने जस्ता समस्याले पार्टीलाई गम्भीर क्षती पु¥याउदै आएको छ । यही समस्याले पार्टीलाई गतिहिन र दिशाविहिन बनाउदै आएको छ । पछिल्लो समय स्थानीय निकायको संसदवादी चुनाव उपयोगको कार्यनीति अपनाउनु यसै समस्याको उपज हो । यो कार्यनीति विचारको बीउ जोगाउने मानसिकताको उपज मात्र हो ।
यतिबेला हामी क्रान्तिकारीहरुको लागि बास्तवमा यस्तो गतिहिनता, दिशाविहिनता, अकर्मण्यता र विचारको बीउ जोगाएर बस्ने भन्ने कुरा गम्भीर विडम्वना हो । यस अर्थमा या यही पार्टीभित्रको समस्या सँग जुध्ने र सच्याउने या सम्बन्ध विच्छेद गरेर क्रान्तिकारी बिकल्प खोज्ने भन्ने दुई विकल्प मात्र हाम्रो अगाडि बाँकी रह्यो । हामीले पहिलो सम्भावना देखेनौं र दोश्रो विकल्प रोज्यौं । र, क्रान्तिकारी बिकल्पको रुपमा क्रान्तिको नेतृत्व गर्न लायक शक्तिको विषयमा आवश्यक अध्ययन गर्दै अगाडि बढने निश्कर्षकासाथ हामी निम्न लिखित कमरेडहरु आजैको मितिदेखि हामी सम्बद्ध रहेको क. किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा ( माओवादी केन्द्र) सँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्दछौं ।

प्रतिक्रियाहरु

[anycomment]