वनमन्त्रीमाथि आक्रमण !

२०७४ बैशाख २६ गते, मंगलवार

काठमाडौैंं, २६ बैशाख । नेपाली काँग्रेस तनहुँले नेकपा (एमाले) का कार्यकर्ताले वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीमाथि आक्रमणको प्रयास गरेको र वडा नं १ का अध्यक्षका उम्मेदवार आशबहादुर लामामाथि अभद्र व्यवहार गरेको भनी निन्दा गरेको छ । निर्वाचनका समयमा जिल्ला आएको भन्दै एमाले कार्यकर्ताले लमजुङबाट राजधानी फर्कने क्रममा डुम्रे बेँसीसहर खण्ड अवरुद्ध पारेर मन्त्री भण्डारीमाथि आक्रमणको प्रयास गरेको बताइएको छ । घटनास्थलमा तत्कालै पुगेको सुरक्षाकर्मीको टोलीले मन्त्री भण्डारीलाई उद्धार गरेको थियो । मन्त्री भण्डारी लमजुङमा एक मित्रको शुभकार्यमा सहभागी भएर राजधानी फर्कँदै थिए । व्यक्तिगत कार्यमा सहभागी भएर फर्कंदै गर्दा एमाले कार्यकर्ताले आक्रमणको प्रयास गर्नु अत्यन्त निन्दनीय भएको मन्त्री भण्डारीको भनाइ छ ।
काँग्रेस भानुनगर समितिका सभापति श्रीभक्त आचार्य र काँग्रेस तनहुँका सचिव विश्व बास्तोलाले उनीहरुमाथि आक्रमणको प्रयासको निन्दा गर्दै सो घटनाको विषयमा दोषीमाथि कारबाही गर्नुपर्ने माग प्रशासनसमक्ष गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]