पत्रकारलाई अनाहकमा दुःख नदिन आग्रह

काठमाण्डौ,२७ बैशाख । नेपाल पत्रकार महासंघले पत्रकारलाई अनाहकमा दुःख नदिन आग्रह गरेको छ । महासंघका केन्द्रिय सचिब प्रभात चलाउनेले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । यस बिषयमा सचिब प्रभात चलाउनेले आज जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “समाचारको विषयलाई लिएर पछिल्ला केही दिनहरुमा पत्रकार तथा सञ्चार माध्यममाथि भएका हस्तक्षेपका घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । फोटो पत्रकार अजय देसारलाई वैशाख ११ गते ललितपुरको नखिपोटमा अज्ञातव्यक्तिले आक्रमण गरी क्यामरामा समेत क्षति
पु-याएका थिए । उहाँमाथिभएको आक्रमणको हालसम्मपनि अनुसन्धान तथा दोषीलाई पक्राउ गर्ने काम समेत नभएकोमा महासंघ आपत्ती जनाउँछ ।
यसैगरी पर्वतमा नवदृष्टि अनलाइनका पत्रकार तथा महासंघ पर्वतका पूर्व उपाध्यक्ष गोपालजि.सि.लाई वैशाख २१ गते पक्राउ गरिएको छ भने रोल्पाका पत्रकार तथा महासंघका प्रदेश पार्षद पुष्टमान घर्ती मगरलाई वैशाख २५ गते पक्राउ गरिएको छ । राजधानीका केही अनलाइनमाध्यम र त्यसमा संलग्न पत्रकारलाई धम्क्याइएको विवरण पनि प्रकाशमा आएको छ । निर्वाचनको संवेदनशील घडिमा पत्रकारले निर्वाचन आचार संहिताको पालना र पत्रकारिताको मर्यादा अनुरुप व्यवसायिक अभ्यास गर्न पत्रकार तथा सञ्चार माध्यमलाई एवं पत्रकारलाई उनीहरुको व्यवसायिक दायित्व निर्वाहमा कुनै अवरोध नगर्न सम्बद्ध पक्षलाई महासंघ गम्भिर ध्यानाकर्षण गराउँछ ।
महासंघले सञ्चार माध्यम तथा पत्रकारमाथि हुने हस्तक्षेप र प्रेस स्वतन्त्रता हननका घटनाहरुलाई सुक्ष्म रुपमा अनुगमन गरिरहेको छ । पत्रकारविरुद्ध हुने कुनै पनि घटनाहरुलाई गम्भिरतापूर्वक लिई तत्काल उचित कानूनी कारवाही गर्न र पत्रकारलाई अनाहकमा दुःख नदिन महासंघ सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँछ ।”