ट्रम्पले गोप्य सूचना चुहाए !
काठमाडौं ,२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट समूहसँग सम्बन्धीत एकदमै गोप्य जानकारी रुसी विदेशमन्त्रीलाई उपलब्ध गराएको नाम नखुलाएका अधिकारीहरुले अमेरिकी सञ्चारमाध्यमलाई जानकारी दिएका छन्। उक्त सूचना अमेरिकाको एउटा मित्र शक्तिबाट आएको थियो जसले उक्त जानकारी रुसलाई पनि उपलब्ध गराउन अनुमति नदिएको द वासिङटन पोष्टले जनाएको छ।
अघिल्लो हप्ता राष्ट्रपति ट्रम्पले रुसी विदेशमन्त्री सार्गेइ लाभ्रोभसँग ओभल अफिसमा भेटघाट गर्दा पछिल्लो घटना भएको उक्त अखबारको भनाइ छ।
तर बैठकमा सहभागी उच्च सुरक्षा अधिकारीले उक्त समचार झुट्टो भएको प्रतिक्रिया दिएका छन्। “यो खबर झुट्टो हो,” बैठकमा सहभागी अमेरिकी उप राष्ट्रिय सुरक्षा सल्लाहकार डिना पावेलले भनिन्, “राष्ट्रपति ट्रम्पले दुवै देशले भोगिरहेका साझा खतराहरुका बारेमा मात्रै कुरा गर्नुभएको थियो।”
ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टरले पनि समाचार गलत भएको बताएका छन्।
राष्ट्रपति चुनावका क्रममा ट्रम्पको अभियान र मस्कोबीच साँठगाँठ रहेको आरोप ट्रम्पले खेपिरहेका छन् र त्यसमाथि अहिले पनि अनुसन्धानहरु भइरहेका छन्। तर राष्ट्रपति ट्रम्पले ती आरोपहरुलाई झुट्टो समाचार भन्दै खण्डन गरिरहेका छन्।
चुनावी अभियानका क्रममा ट्रम्पले डेमोक्र्याटिक दलकी आफ्नी प्रतिद्वन्द्वी हिलरी क्लिन्टनलाई गोप्य सूचनाहरु ठिक ढंङ्गले व्यवस्थापन नगरेको भन्दै आलोचना गर्ने गरेका थिए।