सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुदै
काठमाडौ, ११ जेठ । सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । मन्त्रिपरिषदबाट पारित भएको नीति तथा कार्यक्रम व्यवस्थापिका संसदबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गर्नेछिन् । आज अपरान्ह ४ बजे बस्ने संसद बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ । सरकार परिवर्तनको बेला र चुनावका बेला भएकाले सरकारले मोटामोटी योजना तथा आयोजनालाई मात्रै समेटेर नीति तथा कार्यक्रम तयार पारेको छ । स्थानीय तहको संख्या थपको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनको कारबाही चल्न नदिने अडान लिएपछि पूर्वबजेट छलफलबिना नै यो पटक सरकारको नीति तथा कार्यक्रम ल्याउन लागिएको हो । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम सदनमा पेस हुनेछ । निर्वाचन आचारसंहिताका कारण यो पटक अघिल्लो आर्थिक वर्षका कार्यक्रमलाई नै मुख्य रूपमा निरन्तरता दिइएको छ । नीति तथा कार्यक्रम पहिलो पटक संघीय संरचनामा तयार भएको छ । आज नीति तथा कार्यक्रम ल्याउने क्रममा प्रतिपक्ष एमालेले संसदको अवरोध नगर्ने बताएको छ ।