अलमारिमा छोडिएका यादहरु – इन्द्र थेगिम

मैले याद छोडी आएं….
साथीहरूसंग हांस्दाको खित्खिताहटमा
बालापनका साथीहरूसंग एक्कि दुक्की खेलेको चौकटमा
अटेरी गर्दा आमाको पिटाई खाएको पासुलाको सुम्लोमा
टिचर नहुंदा कागज फालेको कक्षा कोठाको कुनामा।
हो, मैले तेतै याद छोडी आएं……
कलेज जाने बाटै बाटोको बनमाराहरुमा
क्यान्टिनको चना चिउरासंगै पिउने चिया गिलासमा
उसले बोलाउन नसकी हेरिरहेको मायालु एक जोर आंखामा
नोटबुक भित्र संगालेर राखेको उसैको मायाको चिनोहरुमा।
यादहरु अलमारी मै छोडी आएं……
बेहुली हुंदा माईतीले बोकि निकालेको आंगनमा
भक्कानिएर आमा रुंदा थम्थमाउने बुवाको हातमा
बिदाईमा पनि मुस्कुराई रहने रोपिएका फुलहरुमा
मुकदर्शक भई हेरिबसेका भर्खर कोरलेका चिंग्नाहरुमा।
यादहरु केवल यादभित्रै छोडेर आएं…….
रमाउन सकिन पहिला जस्तो दौंतरिको खित्खिकाहटमा
लजाउन सकिन उहिले छोडिगएको मायालु नोटबुकमा
स्पर्श गर्न सकिन बुवालाई रित्तो खाटको डसना र सिरानिमा
धित मार्न सकिन माईती बिनाको उजाड लाग्दो घर आंगनमा।