नेकपाद्वारा झुठा मुद्दा चलाइए प्रतिवाद गर्ने चेतावनी

काठमाडौं , २७ जेठ । नेपाल कम्युनिस्ट पार्टी झापाले सरकारले आफ्ना नेता–कार्यकर्तामाथि सुनियोजित रुपमा झुठा मुद्दा लगाउन खोजेको भन्दै निन्दा गरेको छ । बिहीबारमात्र रौतहट प्रहरीले चन्द्रपुरबाट जिल्ला समिति सचिवालय सदस्यद्वय ताराबहादुर थापा ‘प्रशान्त’ र दिलिप थापा ‘दिलिप’लाई बिनाकारण पक्राउ गरी झुठा मुद्दा लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ ।
दुवै जनालाई त्यहाँका सुदर्शन होटलमा बास बसेको बेला गिरफ्तार गरी विस्फोटक पदार्थ साथमा भिराई फसाउन खोजिएको नेकपा झापा जिल्ला ईन्चार्ज उमेशद्वारा शुक्रबार जारी एक प्रेस विज्ञप्तिमा जनाइएको छ । व्यक्तिगत काममा झापा घर फर्कदै गर्दा बास बसेको बेला पक्राउ गरेर बनिबनाउ समाचार प्रहरीले दिएको जनाउँदै बिनासर्त तुरुन्त रिहा गर्न माग गरेका छन् । झुठा मुद्दा चलाइए संघर्षबाटै प्रतिवाद गर्ने चेतावनी विज्ञप्तिमा लगाइएको छ ।
‘व्यक्तिगत कामको सिलसिलामा काठमाडौंबाट झापा भर फर्के क्रममा रौतहट चन्द्रपुरको सुदर्शन होटलको कोठा नं. १०५ मा बास बसेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहटले सुनियोजित र बनिबनाउ ढंगले विस्फोटक पर्दाथसहित पक्राउ गरिएको भनी समाचार सम्प्रेषण गरेकोप्रति हाम्रो जिल्ला पार्टी घोरनिन्दा र भत्र्सना गर्दछ’ जारी विज्ञिप्तमा भनिएको छ ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी झापाका ईन्चार्ज, झापा उमेशले जारी गरेको विज्ञप्ति यस परका रहेको छ – “दलाल, भ्रष्ट र पतित राष्ट्रघाती संसदीय व्यवस्थाको रक्षाको लागि दलाल सरकारद्वारा देशैभर नेकपाका नेता कार्यकर्ताहरुलाई गैरकानूनी ढंगले पक्राउ गर्ने र गैरजिम्मेवारपूर्ण तरिकाले बनिबनाउ झुठा मुद्दा चलाउने कार्य तीव्र रुपमा गरिरहेको छ ।
यही क्रममा २०७४ जेठ २५ गते नेपाल कम्युनिस्ट पार्टी झापाको जिल्ला सचिवालय सदस्यद्वय ताराबहादुर थापा ‘प्रशान्त’ र दिलिप थापा ‘दिलिप’ व्यक्तिगत कामको सिलसिलामा काठमाडौंबाट झापा भर फर्के क्रममा रौतहट चन्द्रपुरको सुदर्शन होटलको कोठा नं. १०५ मा बास बसेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहटले सुनियोजित र बनिबनाउ ढंगले विस्फोटक पर्दाथसहित पक्राउ गरिएको भनी समाचार सम्प्रेषण गरेकोप्रति हाम्रो जिल्ला पार्टी घोरनिन्दा र भत्र्सना गर्दछ ।
साथै पक्राउ गरिएका कार्यकर्ताहरुको तुरुन्त रिहाइको माग गर्दछ । यदि झुठा अभियोग लगाई मुद्दा चलाउने कार्य भएमा यसको प्रतिवाद संघर्षबाट हुनेछ । त्यसबाट उत्पन्न हुने सम्पूर्ण घटनाको जिम्मेवार दलाल सरकार र गृहप्रशासन हुने जानकारी समेत यसै विज्ञप्तिमार्फत दिन चाहन्छौं ।”