नेकपाद्वारा माअाेवादी केन्द्रका नेताकाे घर र जग्गा कब्जा

२०७४ जेष्ठ २९ गते, सोमबार

काठमाडौं , २९ जेठ । नेपाल कम्युनिस्ट पार्टी रामेछापले नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माेहन घिसिङले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएको घरजग्गालार्इ कब्जा गरेको छ । घिसिङले जनयुद्धकालमा पार्टीकाे सम्पती लुकाएर माअाेवादी अकूत सम्पती जम्मा गरेकाे भन्दै नेकपाले उक्त जग्गा कब्जा गरिएकाे जनाएकाे छ । नेकपा रामेछापका सेक्रेटरी अभिलाषाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै घिसिङले खाँडादेवी गाउँपालिका वडा नं. ७ स्थित बतासे डाँडामा रहेको सार्वजनिक जग्गा ४० रोपनी अतिक्रमण गरेर निजी बनाउन खोजेपछि त्यसलाई रोक्न रामेछाप पार्टीले कब्जामा गरेको सेक्रेटरी अभिलाषाले विज्ञप्तिमा जनाएका छन् ।
सडकसँग जोडिएको अतिक्रमित जग्गामा घिसिङले निजी प्रयोगका लागि ठूलो भवन समेत बनाएका छन् । उक्त घर–जग्गा कब्जा गरेपछि पार्टीको ब्यानर र झण्डा गाडिएको छ । घिसिङको घर साविकको गाविस खाँडादेवी–२ मा पर्दछ । घरजग्गा कब्जा गर्नुमा ४ वटा कारण औल्याइएको छ ।
कब्जा घोषणा गरेपछि पार्टीका नेता तथा कार्यकर्ता कोणसभा समेत गरेका थिए । पार्टीको अनुमति बिना उक्त घर जग्गा बिक्रीवितरण गर्न रोक लगाएको र जबर्जस्त गरिए त्यसबाट उत्पन्न परिणामको जिम्मेवार स्वयम् घिसिङ हुने चेतावनी विज्ञिप्तमा उल्लेख छ ।
एनजीअाे चलाइरेका घिसिङ गाउँमा सोझासिधा नागरिकलाई ठग्ने, सस्तो मूल्यमा जग्गा लिई महंगोमा बिक्री गर्दै हिड्ने दलालको रुपमा चिनिन्छन् । साविकको दिमीपोखरी गाविस–५ मा स्थायी घर भएका घिसिङले गाउँका सोझालाई आकर्षक वैदेशिक रोजगारको प्रलोभन देखाई लाखौं उठाउने र मिटर ब्याजमा लगानी गर्ने पात्रका रुपमा परिचित रहेको स्थानीयले बताए । स्थानीयका अनुसार उनी प्रशासनलाई सेटिङ मिलाएर गलत काम गर्न माहिर पात्र हुन् । माअोवादी केन्द्रका जिल्ला नेता समेत रहेका घिसिङले समाजमा सर्वसाधारणलाई ठग्नेदेखि जनयुद्धकालमा पार्टीको नाममा ठूलो मात्रामा चन्दा उठाई व्यक्तिगत रुपमा प्रयोग गरी आर्थिक दुरुपयोग गरेको आरोप विज्ञप्तिमा लगाइएको छ । कब्जा गर्नुका पछाडि १. तोकिएकोभन्दा ३ रोपनी जग्गा अतिक्रमण गरेको, २. सर्वसाधारणको जग्गा ललाईफकाई सस्तो मूल्यमा लिई महंगोमा बिक्री गरेको, ३. वैदेशिक रोजगारमा पठाउने नाममा सर्वसाधारणसँग मोटो रकम असुलेको र ४. युद्धकालमा पार्टीको नाममा अकुत सम्पत्ति जफत गरी व्यक्तिगत रुपमा दुरुपयोग गरेको कारणहरु औल्याइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]