आज राप्ती बन्द

काठमाडौं, ३० जेठ । नेपाल कम्युनिस्ट पार्टी राप्ती व्युरोले आफ्ना तीन केन्द्रीय सदस्य र अरु दर्जनौं नेता कार्यकर्तालाई पुलिस प्रशासनद्धारा गिरफ्तार गरेको भन्दै आज राप्ती बन्दको आयोजना गरेको छ । कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सुवास, केन्द्रीय सदस्य असल र प्युठान जिल्ला सेक्रेटरी शार्दुलगायत १० जिल्ला समिति सदस्यहरुलाई गिरफतार गरेको भन्दै आज राप्ती बन्दको आयोजना गरेको हो । कम्युनिस्ट पार्टी राप्तीले रोल्पाबाट १४ जना नेता कार्यकर्ता, प्युठानबाट १० जना, दाङबाट ३ जना र रुकुमबाट १४ जना नेता कार्यकर्ता गिरफ्तार गरेको भन्दै आफ्नो पार्टीले राप्ती बन्द गर्नु पर्ने बाध्यता सिर्जना भएको जनाएको छ ।
बन्दका कारण राप्तीका सबै जिल्ला पूर्ण रुपमा प्रभावित भएका छन् । दाङ,सल्यान,प्युठान,रुकुम,रोल्पाको जनजिवन प्रभावित भएको छ । बन्दका कारण यातायात,शिक्षण संस्था, बजार पूर्ण रुपमा बन्द छन् । दाङबाट चल्ने लामो र छोटो दुरीका सबै यातायात चलेका छैनन् । बन्दको अवज्ञा गरेको भन्दै दाङको देउखुरीमा चारओटा गाडीमा तोडफोड गरिएको छ । बन्दमा चलाइएका तीनओटा ट्रक र एउटा जीपमा बन्दकर्ताहरुले तोडफोड गरेका छन् ।