खाद्यान्न सामग्री पाएपछि रमजान मनाउन सहज

२०७४ जेष्ठ ३१ गते, बुधबार

काठमाडौं, ३१ जेठ । मुस्लिमको महान् पर्व रमजान चलिरहेको छ । तामझामसँग मुस्लिम धर्मावलम्बीले यो पर्व मनाइरहेका छन् । वर्षमा एकपल्ट आउने यो पर्वमा मुस्लिम समुदायले दिनभरि रोजा बसेर साँझमा धार्मिकशास्त्रअनुसार रोजा खोल्ने अर्थात् इफतार गरिन्छ । तर यहीबेला आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई रमजान मनाउनका लागि असहज हुने गरेको मुस्लिम समुदायका स्थानीयवासीले बताएका छन् ।
रमजानका बेला दिनभरि रोजा बस्ने गरेका कारण कुनै पनि काम गर्न नसक्नु लगायतका कारणले आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई रमजान मनाउनका लागि असहज हुने गरेको सुनसरीको सदरमुकाम इनरुवाका हजरत हुसेनले बताउनुभयो । यस्तै भएको छ सुनसरीको कोसी गाउँपालिका पश्चिम कुशाहाकी कसिदा खातुनलाई । आफूहरुको महान् पर्व रमजान कसरी मनाउने भन्ने चिन्ताले उनलाई सताएको छ ।
कारण, घरको आर्थिक अवस्था कमजोर । चाडपर्वका बेला पैसा नै चाहिन्छ् । तर त्यही पैसा आउने आयस्रोत कुनै नभएपछि कसरी पर्व मनाउने भन्ने पीडाले सताइरहन्छ खातुनलाई ।
कसिदा जस्तै सुनसरी इनरुवा–९ बबियाका रसिदा खातुनको समस्या पनि उस्तै छ । उहाँको घरमा काम गरेर पैसा ल्याउने मान्छे नै रोजा बस्दा आम्दानी चौपट भएको छ । आम्दानी नभएपछि कसरी रमजान पर्व मनाउने भने चिन्ताले उनलाई पिरोलिरहेको छ । तर सुनसरी सदरमुकाम इनरुवा–२ मा रहेको एक मुस्लिम ट्रस्टले रमजान खाद्यान्न प्याकेज दिएपछि अब रमजान पर्व मनाउनका लागि सहज भएको रसिदा खातुन बताउँछिन् ।
उहाँहरु त उदाहरण मात्र हुनुहुन्छ । उहाँहरु जस्तै सुनसरी, मोरङ र झापाका गरी जम्मा ६५० परिवारलाई रमजान खाद्यान्न प्याकेज र इद गिफ्ट (उपहार) प्रदान गरेपछि अहिले उनीहरुलाई पर्व मनाउनका लागि सहज भएको छ । हिदायत एजुकेसनल एन्ड वेलफेयर ट्रस्ट सुनसरीको आयोजना र उम्माह वेलफेर ट्रस्ट युकेको आर्थिक सहयोगमा ६५० परिवारलाई रमदान खाद्यान्न प्याकेज वितरण गरिएको आयोजक संस्थाका उमर फारुक नदवीले बताउनुभयो ।
संस्थाले ६०० परिवारलाई प्रतिपरिवार ६० केजी चामल, पाँच लिटर खाने तेल, पाँच केजी दाल, चार केजी चिनी, पाँच केजी भुजा, ५०० ग्राम खजुर, दुई लिटर सर्वत जुस लगायतका सामग्री वितरण गरेको हो । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु