कतार आत्मनिर्भर हुने बाटो पहिल्याउँदै
काठमाडौं, ३१ जेठ । विभिन्न खाडी मुलुकले सम्बन्ध विच्छेद गरेपछि आत्मनिर्भर हुने बाटो पहिल्याउँदै गरेको कतारले मुलुकमा दूधको कमी हुन नदिन विदेशबाट गाई ल्याएर विशाल फार्म संचालन गर्ने भएको छ । कतारका एक व्यवसायीले अमेरिका र अस्ट्रेलियाबाट ४ हजार गाई ल्याएर दूध उत्पादन गर्ने भएका छन् । उनले विमानबाट ती गाई ल्याउने र दूध उत्पादन गर्ने भएका हुन् । समाचार एजेन्सीहरुका अनुसार कतारका व्यवसायी मौतज अल खयतले कतारमा ताजा दूधको आपूर्तिका लागि यो कदम उठाएका हुन् ।
पावर इन्टरनेशनल होल्डिङ कम्पनीका अध्यक्ष मौतजले भने, ‘अहिले कतारका लागि काम गर्ने समय हो ।’ उनले अस्ट्रेलिया र अमेरिकाबाट खरिद गरिएका गाईलाई कतार एयरवेजको विमानबाट ल्याइने बताए । यसै महिनाको अन्त्यदेखि दूध उत्पादन भइसक्ने बताइएको छ । यसका लागि करिब ६० वटा उडान लाग्ने अनुमान गरिएको छ । दोहाबाट ५० किलोमिटरको दूरीमा मोताजले डेरी फार्म संचालन गर्ने भएका छन् । भौतिक पूर्वाधारको काम भइसकेको जनाइएको छ । कतारमा हाल टर्कीबाट दूग्ध उत्पादन आपूर्ति हुने गरेको छ । त्यसैगरी ईरानबाट तरकारी तथा फलफूल आयात हुने गरेको छ ।- एजेन्सी