एसईईको नतिजा सार्वजनिक हुँदै
काठमाडौं,२ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईई परीक्षाको नतिजा आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ । एसईईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री, रुजु गर्नेलगायत काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान बोर्ड बैठक बोलाइएकोे कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । बोर्ड बैठक सकिएलगत्तै बिहान १० बजेसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । संशोधित शिक्षा ऐन अनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को यो पहिलो नतिजा हुनेछ । परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७ सय ३२ छात्र र दुई लाख ७८ हजार ४ सय ५० छात्रा गरी पाँच लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी भएका थिए ।