पर्सा वन्यजन्तु आरक्षलाई निकुञ्ज घोषणा
काठमाडौं, १२ असार । सरकारले पर्सा वन्यजन्तु आरक्षलाई निकुञ्ज घोषणा गरेपछि प्रदेश नम्बर २ का नागरिक हर्षित भएका छन् । रोजगारीका अवसर बढ्ने, आन्तरिक र बाह्य पर्यटकले मधेसका सांस्कृतिक, धार्मिक, ऐतिहासिक पर्यटकीय स्थललाई नजिकैबाट नियाल्ने अबसर बढ्ने भन्दै नागरिक हर्षित बनेका हुन् । अब निकुञ्जमा आउने पर्यटकले बारा, पर्सा, सर्लाही, धनुषा, सिरहासम्मका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अवलोकन गर्ने बाटो खुलेको छ । पर्यटकले अब मधेशमा पनि घुम्न र बस्न लायकका स्थानहरु प्रशस्त रहेछ भनेर चिन्ने होटल ब्यावसायी संघ प्रदेश नम्बर २ का संयोजक मोहन शर्मा बताउँछन् । निकुञ्ज बनेसँगै सोझै चितवन जाने सीमावर्ती भारतीय पर्यटकहरुको पहिलो गन्तब्यसमेत पर्सा निकुञ्ज बन्ने व्यवसायीको दावी छ । पर्यटकका लागि निजीस्तरबाट पूर्वाधार बनिरहँदा पर्यटनसँग सम्बन्धित संघ–संस्था र सरकारले निकुञ्जको प्रचार ब्यापक बनाइ पुर्वाधार बढाउन आग्रह गरेका छन् ।
यस निकुञ्जमा भौतिक पूर्वाधार, बाटो, होटल, आधुनिक र परम्परागत बास स्थान निर्माण ब्यापक हुन थालेपछि सरकारले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्सा आरक्षलाई मुलुकको बाह्रौं निकुञ्ज घोषणा गरेको हो । ३४ बर्ष अघि स्थापना गरिएकोे पर्सा बन्यजन्तु आरक्ष निकुञ्ज बनेसँगै अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको वर्गिकरणमा पर्यटकीय दृष्टिकोणले दोस्रो श्रेणीमा रहेको पर्सा निकुञ्जले जनाएको छ । ६ सय २७ बर्ग किलोमिटर क्षेत्रफल रहेको पर्सा निकुञ्जले बारा पर्सा र मकवानपुरका केही भाग समेटेको छ ।