माओबादीलाई वाइबास गरेर चुनावमा जानु घातक : पोखरेल

नुवाकोट , २१ असार। प्रेस चौतारी नुवाकोटले शुक्रवार विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले चुनावमा जानका लागि नेकपा-माओवादी लगायतका दलहरुले राखेका मागलाई सरकारले व्यवास्ता गर्न नहुने वताएका छन् । पोखरेलले कुनैपनि राजनीतिक दललाई पाखा लगाएर निर्वाचनमा जान नहुने वताए ।उनले भने ,’चुनावमा कुनै दल विशेषलाई पाखा लगाएर अघि वढ्न मिल्दैन । तिमीहरु नआए नआओ, निर्वाचन हुन्छ भएरै छाड्छ भन्ने फुर्ती लगाउनु हँुदैन । ‘ उनले संविधानसभाको दोस्रो निर्वाचनवाट मुलुकलाई नयाँ संविधान दिनका लागि सवै दललाई चुनावी प्रक्रियामा ल्याउनु पर्नेमा जोड दिए ।
पोख्रेलले निर्वाचनमा भाग नलिने दलको मागलाई संबोधन गर्न पुनः अर्को सहमति वा सहमति हेरफेर गर्न सकिने वताए । पोख्रेलले एकल जातीयताका आधारमा मुलुकलाई संघीयतामा लगिए घातक हुने वताएका छन् । उनले मुलुकका कुनै पनि क्षेत्रमा कुनै एक जातिको मात्रै बहुमत नभएकाले मुलुकलाई जातीयताका आधारमा संघीयतामा लान नहुने वताएका हुन् ।
उनले अबको निर्वाचनमा दलहरुले राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र जनताका मौलिक अधिकार र सामाजिक सद्भावको कार्यसूचीमा दलहरुको स्पष्ट धारणा ल्याउनु पर्नेमा जोड दिए ।