मनसुन सक्रिय भएसँगै देशैभर वर्षा

२०७४ असार २० गते, मंगलवार

काठमाडौं, २० असार । मनसुन पूर्णरुपमा सक्रिय भएसँगै देशैभर वर्षात् भएको छ । एकसाता अघि मनसुन सक्रिय भएपनि काठमाडौं उपत्यकासहित कतिपय भेगमा वर्षा हुनसकेको थिएन । वर्षा नहुँदा उपत्यका आसपासका फाँटमा रोपाइँ गर्न समस्या भएको थियो । गत जेठ २९ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन असार १३ गतेदेखि देशभरिनै फैलिएको छ । मध्यअसारमा पानी नपर्दा किसान छटपटीमा थिए । पूर्वका धेरै स्थानमा प्रर्याप्त वर्षात हुनसकेको थिएन । तर, सोमबार (हिजो)देखि मनसुन पुनः सक्रिय भई उपत्यकासहित देशैभर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन न्यूनचापीय रेखा साधारण रहने स्थानभन्दा उत्तरतिर सरेकाले केही दिनयता मनसुनी वर्षा राम्रो भइरहेको मौमसविद् सुवास रिमाल बताउँछन् । उनका अनुसार बंगालको खाडीबाट आउने जलबास्प पूर्वी वायुले देशको प्रायःसबै ठाउँमा वितरण गरेको छ, यसले गर्दा देशभरनै वर्षा गराउने जलबास्प प्रशस्त मात्रमा देखिएको छ ।
मध्य तराईमा भारी वर्षात् हुने
भारतको पूर्वी उत्तर प्रदेशमा न्यूनचापीय क्षेत्र विकास भएको छ । यसको गति उत्तर पश्चिमतिर रहेकाले मंगलबार (आज), बुधबार (भोलि) र बिहीबार (पर्सी) देशभर बदली र वर्षाहुने मौसमी अनुमान छ । अहिले पूर्वी–उत्तर प्रदेशमा घना बादल विकास भइरहेको र यसको असर स्वरुप मंगलबार (आज) दिनभर र राति देशका मध्यतराई चितवन, नवलपरासी, बारालगायत आसपास क्षेत्रमा भारी वर्षात् हुने सम्भावना रहेको मौसमविद् रिमालले बताए ।
त्यसैगरी, बुधबार (भोली) बिहानीपख सुदूरपश्चिमका तराई क्षेत्र कैलाली, कञ्चनपुरलगायत स्थानमा भारी वर्षात् हुने सम्भावना छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी धनगढीमा ९३ र सबैभन्दा कम पोखरामा ४ मिलिमिटर वर्षात् भएको छ ।
यस्तै, नेपालगन्जमा ६६, दाङमा ६५, वीरेन्द्रनगरमा २६, डडेल्धुरामा २४ र दिपायलमा ४ तथा पूर्वको धनकुटामा ३३, ओखलढुङगामा १५, ताप्लेजुङमा १४, विराटनगरमा १० मिलिमिटर वर्षा भएको छ । काठमाडौंमा २५ मिलिमिटर र भैरहवामा २४ मिलिमिटर वर्षा भएको छ । वर्षासँगै देशैभर बढेको तापक्रम केही घटेको छ । मंगलबार (आज) सबैभन्दा बढी सिमरा र दाङमा ३१ तथा सबैभन्दा कम जुम्लामा १७ डिग्रिसेल्सियस तापक्रम रहेको छ । काठमाडौंको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस रहेको छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु