‘ दलाल–संसदीय पूँजीवादी व्यवस्थालाई फाल्नुको विकल्प छैन ‘

काठमाण्डौ , २१ असार । नेपाल कम्युनिस्ट पार्टीका नेता एवं स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ले दलाल–संसदीय पूँजीवादी व्यवस्थालाई फाल्नुको विकल्प नभएको ठोकुवा गरेका छन् । साथै उनले नेपाली माटोको माया गर्नेहरु एक ठाउँमा उभिएर दलाल–संसदीय पूँजीवादी व्यवस्थालाई फाल्नुको विकल्प नरहेको बताएका छन् । बुधबार राजधानीमा आयोजित जनकलाकार आरोह नेपालीको ‘देशको माया’ एल्बममाथि परिचर्चा कार्यक्रममा बोल्दै नेता वलीले दलाल संसदीय व्यवस्थाले चुनाव गराएर गाउँटोलसम्म दलालहरुको जरा फैलाउने काम गरेको र नागरिकलाई चरम शोषणको खाडलमा पारिएको बताए । जनकलाकार आरोह नेपालीले ‘देशको माया’ नामक देशभक्तिभावयुक्त एल्बममाथि परिचर्चा गर्न अखिल नेपाल जनसाँस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रममा नेता वलीले एल्बमल वर्तमान दलाल संसदीय शासकहरुले विदेशी दलालशासकसामु गरिएको लम्पसारवादी चरित्रको उदंगो गरेको बताए । लम्पसारवादीहरु विरुद्ध लडेर नेपाली माटोको रक्षा गर्नु आजको प्रमुख कर्तव्य रहेको बताए । यहाँका शासकहरुले विदेशी दलालशासकसमक्ष आत्मसमर्पण गरेकै कारण देशकै अस्तित्वमाथि संकट आइलागेको उनको भनाई छ । एल्बम जनयुद्ध र समकालीन भोगाइको प्रतिफल भएको उनले बताए ।
गायक नेपालीले ‘दोस्रो संविधानसभा–२०७०’ को चुनाव बहिस्कारकै क्रममा दाहिने हात पनि गुमाएका छन् । एल्बममा ‘देशको माया छ भने साईला दाइ उठ है, माटोको माया छ है माईला दाई तयार हौ भिड्नलाई’ बोलको गीत समावेश छ । साथै ‘घर सम्झेर गाउँ सम्झेर झर्छ आँसु परदेशीको मरुभुमिमा’, के फरक छ तिमी र ममा तिमीले फेर्ने सास एउटै मैले फेर्ने सास एउटै’, ‘आउँछ यादहरू युद्धसँगै लडेको’ लगायत १० वटा गीत समावेश छन् ।
नेकपाले एकीकृत जनक्रान्तिको कार्यदिशालाई सफलीभूत बनाउन साँस्कृतिक गतिविधिलाई तीव्रता दिइरहेकै बेला सामना सांस्कृतिक परिवारका सहसंयोजक मेत रहेका जनपक्षीय गायक नेपालीले ‘देशको माया’ ल्याएका हुन् । समावेश गीतले नेपाली माटो र नेपालीको रक्षा गर्न मद्दत पुग्ने विश्वास नेपालीले व्यक्त गरे ।
कार्यक्रममा कवि÷तथा गीतकार भूपाल राई, गायक÷संगीतकार सुरेश अधिकारीले प्रस्तुत एल्बमले नेपालीमा राष्ट्रवादीभाव फैलाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । तीव्रतामा जनपक्षीय गीतहरु ल्याउनुपर्ने बताए । कार्यक्रममा नेकपाका नेता गुणराज लोहनी, आजाद, चिरन पुनलागयत साँस्कृतिककर्मी, लेखक, समालोचकहरुको उपस्थिति थियो ।
सोही अवसरमा अग्निराज पौडेल, सुशीलसिंह ठकुरी, रमण थामी, निर्मला घिसिङ, रमेश विक, राज राई, नवीन विश्वकर्मा, पूजा मगर, दीपा महर्जन, रूषा जिम्बा, देवी बस्नेत, आभाष दुलाल र विमला विश्वकर्मालाई आभार पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष टेक बलम्पाकी र महासचिव खेम थपलियाले जनपक्षीय गीत संगीतको माध्यमबाट दलाल संसदीय व्यवस्थालाई विस्थापित गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न महत्व भूमिका निर्वाह गर्ने र आगामी दिनमा थप सशक्त बनाउँदै लैजान महासंघ प्रतिवद्ध रहेको बताए ।