सलमानको ट्युबलाइटले वितरकलाई डुबायो

२०७४ असार २२ गते, बिहीबार

काठमाण्डौ , २२ असार । सलमान खान, शाहरुख खान र अमिर खानको चलचित्रले बक्स अफिसमा राम्रो आम्दानी गर्दै आएका छन् । सोही अनुरुप चलचित्र वितरकहरुले सलमान खानको पछिल्लो चलचित्र ‘ट्युबलाइट’ सफल हुने अनुमान गर्दै चर्को मूल्यमा खरिद गरे । परिणामस्वरुप चलचित्र प्रदर्शन अघि नै उक्त चलचित्रका निर्मातासमेत रहेका सलमान खान राम्रो आम्दानी गर्न सफल त भए तर वितरकहरु भने अहिले शोकमा छन् । चलचित्र ‘ट्युबलाइट’ले अपेक्षाअनुसारको व्यावसाय गर्न नसकेपछि वितरकहरु घाटा परे । समीक्षकहरुका अनुसार वितरकहरु करिब ७५ करोड घाटामा छन् । सो चलचित्र खरिद गर्ने कम्पनी एनएच स्टूडियोको मार्केटिङ टिमसँग आवद्ध श्रद्धा हिरावतका अनुसार चलचित्र प्रदर्शन हुनु अघि नै सलमान खान २०० करोडभन्दा बढी नाफामा थिए । तर वितरकहरु भने ठूलो नोक्सानमा परेका छन् । वितरकहरुमाथि परेको घाटाको यकिन तथ्यांक केही दिनमा प्रष्ट हुने बताइएको छ । तर उनीहरुले सलमान खानलाई गुहारेका छन् । बढी नाफा आर्जन गरेका सलमानलाई उक्त नाफाबाट आफूहरुका लागि केही राहतको व्यवस्था गर्न उनीहरुले ध्यानाकर्षण गराएका हुन् ।
यद्यपि चलचित्र वितरणसम्बन्धी यसअघि नै भएको सम्झौता अनुसार सलमान खानले वितरकहरुमाथि परेको घाटाबापत कुनै सहुलियत दिन बाध्य हुनुपर्ने छैन । तर पनि मानवीयता र आपसी सम्बन्धका आधारमा उनले केही सहुलियत दिन्छन् कि भन्ने अपेक्षामा वितरकहरु रहेको बताइएको छ । ट्युबलाइटले १० दिनमा एक सय ११ करोड कमाएको छ । कमाइको यो दर सलमानका अन्य पछिल्ला चलचित्रको तुलनामा निकै कम हो । सुल्तान, बजरंगी भाइजान लगायत उनका अन्य चलचित्रकै हाराहारीमा ट्युबलाइटले पनि बक्स अफिसमा तहल्का पिट्ने अपेक्षा गरेका वितरकहरु अहिले रनभुल्लमा परेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]