असोजदेखि शवदाह गृह

२०७० असार २२ गते, शनिबार

काठमाडौँ । आगामी असोजदेखि नेपालमा पहिलो पटक विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइने भएको छ । मृतकको शव जलाउने तथा गाड्ने कार्यलाई परिमार्जन गर्दै पशुपति क्षेत्र विकास कोषले आधुनिक तरिकाको उक्त शवदाह गृहको संरचना निर्माण कार्यसम्पन्न भएको र आवश्यक मेसिन आगामी साउन महिनाभित्र आइपुग्ने जनाएको छ । मेसिन ल्याइएपछि जडानका लागि केही समय लाग्ने र जडानपछि विद्युतीय दाहसंस्कार सुरु गरिने छ । पशुपति क्षेत्र विकास कोषद्वारा पशुपति आर्यघाटको दक्षिणपट्ट बागमती नदीको पश्चिमतर्फकरिब पाँच रोपनी जग्गामा शवदाह गृह निर्माण गरिएको हो । आगामी असोज महिनाभित्रमा सञ्चालनमा ल्याइने लक्ष्यका साथ कार्य भइरहेको पशुपति क्षेत्र विकास कोषका वरिष्ठ निर्देशक श्यामशेखर झाले जानकारी दिए । शवदाह गृहमा दर्ुइवटा मेसिन जडान हुने र एक पटकमा दुइवटा शवदाह गर्न सकिने उल्लेख गर्दै उनले करिब एक घण्टा अवधिमा विद्युतीय दाह सकिने बताए । भारतको कोलकातास्थित इन्डोमेन्ट इन्जिनियरिङ सभिर्सेजबाट खरिद गरिएको उक्त मेसिनको मूल्य दुइ करोड ५९ लाख रूपैयाँ रहेको पनि निर्देशक झाले जानकारी दिए । भवन निर्माणका लागि करिब रु. पाँच करोड ५५ लाख खर्च हुने अनुमान कोषले गरेको छ । परम्परागत दाहसंस्कारबाट वातावरणमा ठूलो असर परिरहेको र ठूलो मात्रामा दाउराको खपत हुने गरेको कारण आधुनिक तरिकाको मेसिन जडान गरी दाहसंस्कार गर्दा आर्थिक तथा वातावरणमा पनि प्रतिकूल असर नपर्ने उनको भनाइ छ । दाउराबाट दाहसंस्कार गर्दा एउटा शव जलाउन करिब २०० देखि ३०० केजीसम्म दाउरा आवश्यक हुने र करिब छ/सात हजार खर्च लाग्ने तर विद्युतीय मेसिनबाट दाहसंस्कार गर्दा त्यसको आधा रकमले दाहसंस्कार सम्पन्न हुने उनको भनाइ छ । सामान्य रूपमा विद्युतीय दाहको अवधि करिब एक घण्टामा सकिने भए पनि बोसो कम हुने व्यक्तिको शवदाह गर्न भने करिब १० मिनेट समय बढी लाग्ने पनि बताइएको छ । दाहसंस्कारको आवश्यक खर्च पनि कम हुने तथा समय बचत हुने भएकाले भारतका ठाउँ ठाउँमा सामान्य जनताले समेत विद्युतीय शवदाह स्वीकार गरिसकेकाले यहाँ स्वीकार्य हुने कोषको दाबी छ ।

प्रतिक्रियाहरु

[anycomment]