शहिद हरिबहादुर कुँवरको स्मृतिमा – प्रकाण्ड

२०७४ श्रावण २ गते, सोमबार

नेपाली जनताको महान शहिद हरिबहादुर कुँवरको स्मृतिग्रन्थ प्रकाशनार्थ अथक मिहेनताका साथ तयारी गरिरहनु भएको रहेछ । असाढ पहिलो हप्ता मलाई भेटेर उहाँले यो सुखद सन्देशसुनाउनु भयो । अनि मलाई मन्तव्य लेख्न पनि भन्नु भयो । भावुकता र सहर्षताको योगमा मैले लेख्छु भने । जनताका छोरा छोरीले देशको मुक्ति र जनताको आजादीको निम्ति गरेको त्याग र बलिदानीलाई उच्च सम्मान र प्राथमिकताकासाथ ऐतिहासिक तथा जन साहित्यीक दृष्टिकोणबाट पूँजीकृति गर्न समर्पित क.राजकुमारलाई सर्वप्रथम सगौरव विशेष धन्यवाद ज्ञापन गर्दछु किन की जनताको मुक्ति र स्वतन्त्रताको निम्ति जनताले आशु, रगत र पसिनाबाट रचना गरेको इतिहास एवं साहित्यको द्वन्द्वात्मक भौतिकवादी लेखन देश र जनताको मुक्तिआन्दोलनको निम्ति महत्वपूर्ण आधार हुन्छ । तसर्थ यो सामान्य कार्य नभएर विशिष्ट महत्वको कार्य हो ।
केन्द्रीय राज्यसत्ताको वर्गीय उत्पीडनको उपज कर्णाली प्रदेशमाथिको क्षेत्रीय उत्पीडनका विरुद्ध जनताको क्रान्तिकारी संघर्षको इतिहासमा ०६३ साल यताको शान्ति प्रकृयाको पछिल्लो चरणमा आफ्नो अमूल्य जीवन कर्णाली र कर्णालीवासी जनताको मुक्तिको निम्ति अर्पण गर्ने कर्णालीको महान सपुत वीर शहिद हरिबहादुर कुँवर हो । सर्वप्रथम उहाँलाई स–सम्मान भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । देशको मुक्ति र नेपाली जनताको राजनैतिक स्वतन्त्रतासंग अभिन्न रुपले गाँसिएको कर्णाली प्रदेशको आन्तरिक स्वाधिनता एवं जनताको मुक्तिको निम्ति शहिद हरिबहादुर कुँवरको सपना पुरा गर्न अधुरो नेपाली क्रान्तिलाई निर्णायक विन्दुमा पु¥याउन आफूलाई पुराकापुरा समर्पित गर्ने दृढ प्रतिवद्धता समेत व्यक्त गर्दछु ।
पृथ्वी नारायण शाहाको एकिकृत तथा केन्द्रीकृत सामन्ती राज्यसत्ता निर्माणको राजनैतिक रणनीतिद्वारा संचालित बहादुर शाहाको फौजी हमलामा परि कर्णाली विजीत भए पछि ऐतिहासिक काल देखि नै कर्णाली क्षेत्र र यहाँका जनताको समस्यालाई केन्द्रीत गरेर वहस, छलफल र सामाधानको पहल हुदै आएको छ । यसको दृष्टिकोण, प्रवृति, नीति र शैलीमा भने विविधता रहदै आएका छन् । अहिले पनि यो अवस्था न्यून रुपमा विद्यमान नै छ । कर्णाली प्रदेश र यहाँका जनताको मुक्तिका हिमायती जो सुकैले पनि समस्याको वस्तुनिष्ठ पहिचान, सामाधान सम्बन्धी वैज्ञानिक विचार र बदल्नको निम्ति अदम्य शाहासकासाथ क्रान्तिको ऐतिहासिक एवं निर्णायक पहलकदमी लिन जरुरी छ । यसका निम्ति कर्णालीका राजनैतिक नेतृत्व एवं कार्यकर्ता, प्राज्ञिक वर्ग, युवा युवतीहरु, व्यापारी व्यवसायीहरु, शिक्षक कर्मचारीहरु, सामाजिक व्यक्तित्वहरु लगायत आमकर्णालीवासी जनसमुदायहरु तयार हुनै पर्छ ।
कर्णाली प्रदेशको प्रमुख समस्या एकिकणको नाममा पृथ्वी नारायण शाहाले थालनी गरी बहादुर शाहाले पूर्णता प्रदान गरेको शोषक वर्गकोसामन्ती एकात्मक एवं केन्द्रीकृत राज्यसत्ता हो । जसले कर्णालीका जनताको आफ्नै राज्य सिजांलाई अतिक्रमण गरी केन्द्रीकृत राज्यमा विलिन गरायो । त्यो बेला देखि कर्णाली आन्तरिक राज्य विहिन भै यसको स्वाधिनताको मुद्दा प्रमुख बन्न पुग्यो । आफ्नो सिजां राज्यमा कर्णालीका जनताले शासन संचालन गरी राखेका थिए । यद्यपि त्यो बेलाको समाज विकाशको स्तर, चेतना र राज्य संचालकहरुको विचार एवं प्रवृतिगत सिमाका कारण परम्परागत भए पनि त्यो कर्णालीका जनताको आफ्नै राज्य र शासन थियो । राज्यको चरित्र र शासकीय ढाँचालाई हेर्दा त्यसलाई कर्णालीका जनताको परम्परागत गणतन्त्रात्मक राज्य भन्न सकिन्छ । यो राज्यको शासन व्यवस्था पनि कब्जा गरियो । कर्णालीका जनता राजनैतिक अधिकारबाट वंचित भए । अतयव कर्णाली राष्ट्रको आन्तरिक राष्ट्रिय स्वाधिनता र राज्य संचालन गर्ने राजनैतिक अधिकार खोसियो । त्यो बेला देखि कर्णाली प्रदेशको पराधिनता र जनताको राजनैतिक स्वतन्त्रताको मुद्दा प्रमुख बन्न गयो ।
वि.सं. १८४६ मा बहादुर शाहाको सेनाले सामान्य युद्धको नियम विपरित दशैको नवमीको राती षड्यन्त्रकारी, अनैतिक र अमानवीय ढंगले कर्णालीवासी जनताको सिंजाराज्य कब्जामा लिएपछि विं.स. १९०३ सम्म ५८ वर्ष पृथ्वी नारायण शाहाका सन्तानले, विं.सं. १९०३ देखि २००७ सम्म १०४ वर्ष जंग बहादुर राणाले संचालन गरेको जहानिया राणा शासकले, २००७ साल देखि २०१७ सालसम्म ११ वर्ष राणा, राजा र नेपाली काँगे्रसले, विं.सं. २०१७ साल देखि ०४६ सालसम्म ३० वर्ष राजा महेन्द्रले स्थापना गरी संचालन गरेको पंचायत स्वरुपको सामन्ती राजतन्त्रले, वि.सं.२०४६ साल देखि ०६३ सालसम्म १८ वर्ष राजा एवं संसदवादी दलहरुले चलाएको राज्यसत्ता र शासन व्यवस्था शोषक वर्गकै हो । त्यसको वर्ग, चरित्र र स्वास्र्थ एउटै छ । वि.सं. १८४६ देखि २०६३ सालसम्म २१७ वर्ष कर्णाली र त्यहाँका जनता माथि शासन गर्ने वर्ग एउटै मात्र शोषक वर्ग हो । विश्व मानव समाजको ऐतिहासिक विकाश प्रकृयामा आदिम साम्यवादी समाजमा नकारात्मक चिन्तन, प्रवृति, स्वार्थ, सोच र संस्कारको उपजको रुपमा समाज वर्गमा विभाजित हुनु र त्यसको सामाजिक स्वरुप दाशयुग हुनुबाट दाश मालिकको रुपमा सामाजिक अस्तीत्वमा आएको वर्ग शोषक वर्ग हो । मानव समाजको गतिशिल विकाश, मानव सभ्यताको विकाशको ऐतिहासिक प्रकृयाको प्रारम्भमा प्राकृतिक प्रतिकृलतासंग संघर्ष र दास युगबाट आउदा समाज वर्गमा विभाजित भएपछि समाजको चालक शक्ति भिषण वर्गसंघर्षबाट आर्जित ज्ञान, श्रमजीवी वर्गसंगको संघर्षको जोखिमी र शोषक वर्गका अन्य प्रतिनिधिहरुको शासकीय चाहाना एवं महत्वाकाक्षाको परिणाम यो वर्गले शासन संचालनको ढाचाँ र शासकहरुमा फेरवदल गर्दै आफ्नो राज्यसत्ताको अन्त्यष्टिलाई रोक्ने दुस्साहास जन्मकाल देखि गर्दै आएको छ । नेपालमा पृथ्वी नारायण शाहाको शासन, राणा शासन, राणा राजा र काँग्रेस शासन, पंचायती शासन र राजतन्त्रात्मक संसदीय व्यवस्था यसैको उपज र निरन्तरता मात्र हुन । शासक र शासकीय स्वरुपमा फेरवदलको नौटंकी गरेर श्रमजीवी जनतालाई मुर्ख बनाई आफ्नो राज्यसत्ता बचाईराख्ने दुस्प्रयासहरुशोषक वर्गले निरन्तर गर्दै आएको छ । यसैलाई विसौं शताब्दीको पूर्वाद्धमै विश्व श्रमजीवी वर्गका विचारक एवं महान नेता लेनिनले “संसदीय व्यवस्थालाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो” भन्नु भयो । यसर्थ नेपालमा वि.सं. १८२५ मा स्थापना गरेको एकात्मक तथा केन्द्रीकृत सामन्ती सत्ताका शासक र शासकीय ढाँचामा नयाँ नयाँ कलमी लगाएर शोषक वर्गले उत्पीडित जनतामाथि निरन्तर शासन गर्दै आईरहेको छ । स्मरण होस वि.सं. १८२५ देखिको शासक शोषक वर्ग, वर्गीय चरित्र र वर्ग स्वार्थमा आजका मितिसम्म किन्चितपरिवर्तन आएको छैन । वर्तमान नेपाली समाजका वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक, सामाजिक एवं साँस्कृतिक, आर्थिक लगायतका यावत समस्याहरु यही शोषक वर्ग र यसको राज्यसत्ताका उपज हुन ।
नेपाली राजनैतिक रंगमंचमा एउटा वडो मजाक के भयो भने त्यो बेलाको शोषक वर्गको सामन्ती राज्यसत्ता र त्यसको संसदीय व्यवस्थामा आमुल परिवर्तन गर्नको निम्ति नेपाली स्वाभिमानी एवं श्रमजीवी जनताले नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नेतृत्वमा १० वर्ष सशस्त्र जनयुद्धलडे । त्यसको आडमा १९ दिनको ऐतिहासिक आन्दोलन पनि भयो । जनयुद्धको नेतृत्व गरेका प्रचण्ड बाबुरामहरु वि.सं.०६३ साल पछि शोषक वर्गको सामन्ती राज्य सत्ता र त्यसको संसदीय व्यवस्थामा निर्णायक क्रान्ति गर्नु पर्ने देश र नेपाली भोका नाङ्गा जनताको दायीत्वबाट भागेर पृथ्वीनारायण शाहाले स्थापना गरेको शोषक वर्गको राज्यसत्ताका वर्तमान शासक बन्न पुगे । प्रचण्ड बाबुरामहरु सामन्ती एकात्मक राज्यसत्ताका त्यो बेलाका शासक पृथ्वीनारायण शाहा र बहादुर शाहा बनेर गएनन्, यिनीहरु राणाहरुको जहानीयाँ शासक जंगबहादुर राणा बनेर पनि शासन गर्न गएनन्, न निरंकुश पंचायती शासक राजा महेन्द्र बनेर शासन गर्न गए, न त राजतन्त्रात्मक संसदीय व्यवस्थाका राजा विरेन्द्र, गिरिजप्रसाद कोइराा, मनमोहन अधिकारी बनेर शासन गर्न गए । यिनीहरु त शोषक वर्गको वर्तमान नेपाली राज्यसत्तालाई १०वर्षको महान जनयुद्ध र १९ दिनको ऐतिहासिक जनआन्दोलनका उपलब्धीहरुले रङ्गरोगन गर्न मुखर्ता गरिएको दलाल संसदीय व्यवस्थाको कथित संघीय लोकतान्त्रीक गणतन्त्रको शासक बन्न गए ।
नेपालको राजनैतिक इतिहासमा केन्दीकृत तथा एकात्मक सामन्ती राज्य निर्माण देखि हालसम्म शासक वर्गको स्वरुपमा भने भिन्नता हुदै आएको छ । पृथ्वीनारायण शाहाको चरित्र एकात्मक एवं केन्द्रीकृत सामन्ती थियो भने जंगबहादुर राणाको जहानीयाँ, राजा महेन्द्रको निरंकुश पंचायती थियो भने राजा विरेन्द्र, गिरिजा प्रसाद कोइराला र मनमोन अधिकारीको राजतन्त्रात्मक तथा संसदीय प्रतिकृयावादी थियो । अहिले प्रचण्ड बाबुराम र संसदवादी दलका मुख्य नेता लगायतका शासकहरुको चरित्र दलाल पूँजीवादी छ । शोषक वर्गको दलाल पूँजीपति हिस्साको राज्यसत्तालाई संघीय लोकतान्त्रीक गणतन्त्रको “झोला चोपेर” शासक बनिराखेका छन् । वास्तवमा शोषक वर्गको राज्यसत्ता ध्वंस भएर नेपाली श्रमजीवी जनताको राज्यसत्ता स्थापित भैसकेको छैन । नेपाली जनताले अनिवार्य रुपमा सम्पन्न गर्नु पर्ने नेपाली क्रान्तिको गहन कार्यभार बाँकी नै छ । यस विषयमा नेपाली जनतालाई कति पनि भ्रम हुनु हुदैन र भ्रम रहन पनि दिनु हुदैन ।
कर्णालीको क्षेत्रीय उत्पीडिनको प्रश्न आफ्नो सारतत्वमा शोषक वर्गको राज्यसत्ताको केन्द्रीय प्रश्न हो । कर्णालीका समस्याको सामाधान कर्णाली स्तरमा मात्र खोजेर पूर्ण र संभव दुवै हुदैन । यो त “टाउकोको विरामीलाई खुट्टामा उपचार गर्ने डक्टर”को जस्तो हुन्छ । ऐतिहासिक भौतिकवादी तथ्य पनि के हो भने सामन्ती केन्द्रीकृत राज्यसत्ताका संचालनकहरुले नै कर्णालीको स्वाधिनता र जनताको राजनैतिक लगायत समग्र अधिकारलाई खोसेका हुन । त्यसपछि कर्णालीलाई शासकहरुले पाईला पाईला गर्दै अहिलेको नाजुक अवस्थामा पु¥याए ।
केन्द्रीय राज्यसत्ता र शासक वर्गको अनुहारलाई जीवन्त चित्रण गर्ने कर्णाली प्रदेश एवं कर्णालीका जनताको वर्तमान दर्दनाक अवस्थाको सधैको निम्ति अन्त्य गर्न शोषक वर्गको दलाल पूँजीवादी केन्द्रीय राज्यसत्ता, त्यसका शासकहरु र दलाल संसदीय व्यवस्थाको दाहसंस्कार पहिलो शर्त हो । आफ्नो राष्ट्रको स्वाधिनता र राजनैतिक अधिकार प्राप्तिको निम्ति नेपाली जनताले ऐतिहासिक काल देखि गर्दै आएको अनवरत संघर्षको उच्च एवं केन्द्रीकृत रुपमा अभिव्यक्त नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नेतृत्वमा नेपाली जनताले अगाडि बढाएको १०वर्षको महान जनयुद्ध हो । १९ दिनको आन्दोलन जनयुद्धको धरातलमा भएको थियो । जनयुद्ध नेपालमा विद्यमान शोषक वर्गको राज्यसत्ता, शासन व्यवस्था र शासकहरुलाईनिर्मुल पार्नेराजनैतिक उदेश्यद्वारा संचालित युद्ध थियो । शोषित वर्षको राज्यसत्ता स्थापनाको महान अभिभार बोकेको जनयुद्ध आफ्नो १०वर्षकै समयावधिमा विजयको सन्निकट जब पुग्यो, तब त्यो बेलाको साम्राज्यवाद, भारतीय विस्तारवाद र यो देशका संसदीय प्रतिकृयावादीहरु जनयुद्धलाई निस्तेजपार्ने षड्यन्त्रमा लागे । विजय उन्मुख जनयुद्धले पैदा गरेको खतराको सामना गर्ने हिम्मत नगरेर प्रचण्ड बाबुरामको आत्मसुरक्षावादले शोषक वर्गको दलाल संसदीय व्यवस्थाका अगाडि आत्मसमर्पण ग¥यो । यिनीहरुले नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाली क्रान्ति, देश र नेपाली जनताको निम्ति धोका र गद्धारी गरेर क्रान्तिमा अक्षम्य अपराध गरे । नेपाली क्रान्तिले भयानक क्षिति वेहो¥यो । क्रान्ति अधुरै रहयो र छ ।
नेपाली श्रमजीवी वर्गको क्रान्तिको पूर्णता, देशको अस्तित्व एवं स्वाधिनताको रक्षा, नेपाली शोषित वर्गको राज्यसत्ता निर्माण, शासन व्यवस्था स्थापना, देशको विकास र नेपाली जनताको समृद्धिको निम्ति नेपाली क्रान्तिको पूर्णता क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेपाली श्रमजीवी जनताको पहिलो कार्यसूची हो । क्रान्तिको यो दायीत्व निर्वाह गर्न क्रान्तिकारी राजनैतिक शक्तिले एक्काइशौं शताब्दीको विश्व, यसको नेपाली समाजमा प्रभाव, आफ्नो देशको वास्तविक अवस्था र क्रान्तिकारी शक्तिको देश तथा जनताप्रतिको उत्तरदायीत्वलाई दृष्टिगत गरी नेपाली क्रान्तिको कार्यदिशा निर्धारण गर्नु पर्दछ । जुन कार्यदिशा नेपालका श्रमजीवी जनताको राज्यसत्ता निर्माण गर्ने र दलाल पूँजीपतिवर्गको वर्तमान राज्यसत्ताको चिहान खन्ने होस । देशको मुक्ति, नेपाली क्रान्ति र राष्ट्रिय राजनीतिको आवश्यकतालाई परिलक्षित गरी नेपाली श्रमजीवी जनताको पार्टी नेपाल कम्यनिस्ट पार्टीले आफ्नो स्थापनाकाल देखि नेपाली क्रान्तिको वैज्ञानिक कार्यदिशाको रुपमा “एकिकृत जनक्रान्ति” (Unified PeopleÚs Revolution)अगाडि सारेर प्रयोग गरी राखेको छ । एकिकृत जनक्रान्तिको कार्यदिशाको राजनैतिक लक्ष शोषक वर्गको दलाल पूँजीवादी राज्यसत्ता, दलाल संसदीय व्यवस्था र दलाल शासकहरुको अन्त्य गर्नु हो । एकिकृत जनक्रान्तिको पूर्णताले स्थापना गर्ने राज्यसत्ता शोषित वर्गको राज्यसत्ता हो । शोषित वर्गको राज्यसत्ताको समाजव्यवस्था “वैज्ञानिक समाजवाद” हो । यो समाज व्यवस्थाका संचालक वा मालिक नेपाली श्रमजीवी वर्ग हुन्छन । जसमा उत्पीडित वर्ग जाती, क्षेत्र, लैङ्गिक, दलित समुदाय, राष्ट्रवादी तप्का लगायत आम उत्पीडित जनताहरु पर्दछन । नेपाली श्रमजीवी वर्गको कम्युनिस्ट पार्टीको नेतृत्वमा आम नेपाली श्रमजीवी वर्गको शासनलाई सुनिश्चित गरिने व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था हो । देशको मुक्ति, नेपाली श्रमजीवी जनताको शासन र देशको विकाश एवं समृद्धिको लागि वैज्ञानिक समाजवादको स्थापना अनिवार्य मात्र होइन ढिलो भैसकेको छ ।
अहिले पनि कर्णाली दलाल पूँजीपति वर्गको केन्द्रीय राज्यसत्ताको उपनिवेश नै छ । यो पृथ्वीनारायण शाहाको राज्यसत्ताको निरन्तरता हो । दलाल पूँजीपति वर्गको केन्द्रीय राज्यसत्ताको उपनिवेशवाट कर्णालीलाई मुक्त गरी आन्तरिक राष्ट्रियताको दृष्टिले स्वाधिन वनाउनु कर्णालीका क्रान्तिकारी नेता कार्यकर्ता, राष्ट्रवादीहरु, उद्योमी, व्यवसायी, युवायुवतीहरु, वुद्धिजीवीहरु, महिला र दलितहरु, शिक्षक कर्मचारीहरु लगायत आम श्रमजीवी कर्णालीवासीको पहिलो कार्यभार हुन आएको छ ।
कर्णालीका जनताको शासन संचालनको अधिकारका दृष्टिले दलाल संसदीय शासन व्यवस्थाको निर्मुल गरी वैज्ञानिक समाजवादी शासन व्यवस्था अन्तर्गत “आत्म निर्णयको अधिकारको स्वीकृति” सहित कर्णालीका जनताको “स्वशासन”को अधिकार स्थापित गर्नु पर्छ । आन्तरिक राष्ट्रिय स्वाधिनता र शासन व्यवस्थामा “स्वशासन”को अधिकार प्राप्त गर्नुले कर्णाली प्रदेश र कर्णालीवासी जनताको क्षितिपूर्ति सहित वास्तवमै मुक्ति र स्वतन्त्रता स्थापित हुन्छ । यसका निम्ति कर्णाली प्रदेश र कर्णालीवासीहरु नेपाली जनताको वैज्ञानिक समाजवादी शासन व्यवस्था स्थापना गर्न एकिकृत जनक्रान्तिको दिशामा दृढताकासाथ अगाडि बढ्नु पर्छ ।
अन्तमा महान शहिद हरिबहादुर कुँवरप्रतिको सच्चा श्रद्धाञ्जली, शहिदपथको यात्रा र सपनाको साकार तव मात्र हुने छ जब एकिकृत जनक्रान्तिको कार्यदिशाद्वारा देशमा विद्यमान शोषक वर्गको दलाल पूँजीवादी राज्यसत्ताको अन्त र नेपालका श्रमजीवी जनताको राज्य व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गरी कर्णाली प्रदेशको आन्तरिक राष्ट्रिय स्वाधिनताको सुनिश्चितता र कर्णालीका जनताले स्वशासन प्राप्त गर्ने छन ।महान शहिद हरिबहादुर कुँवर – लाल सलाम ! ( लेखक – नेकपाका प्रवक्ता हुन् । )

प्रतिक्रियाहरु

[anycomment]