बिनाअक्सिजन ८ घन्टासम्म !

२०७४ श्रावण ३ गते, मंगलवार

काठमाडौं, ३ साउन । पानीमुनि रहेको गुफा अध्ययन गर्नेक्रममा दुर्घटनाबस बाटो बिर्सिएपछि निश्चित समयका लागि लगिएको अक्सिजन सकियो । ८ घन्टासम्म बिनाअक्सिजन जीवन र मृत्युसंग संघर्ष गरेर एक पुरुष बाँच्न सफल भए । अचम्मको कुरा ती पुरुष कसरी बिनाअक्सिजन ८ घन्टासम्म पानीमुनि रहेको गुफामा बाँच्न सफल भए त ? सिस्को ग्रेसिया नाम गरेका ५४ वर्षीय ती पुरुषले गत अप्रिल १५ शनिबारका दिन घटेको उक्त घटनाकाबारेमा बीबीसीलाई बताएका छन् । जियोलोजिकल विषयका शिक्षक ग्रेसिया समुद्रमुनि रहेको गुफा अध्ययन गर्ने वैज्ञानिक पनि हुन् । सधैंझैं ग्रेसिया त्यसदिन आफ्नो साथी पौडीबाज गुल्लियम मस्कोराको साथ मल्लोर्का तालमुनि रहेको सा–पिक्वेटा नाम गरेको गुफामा जाने निर्णय गरेका थिए । उनीहरु दुबैजना करिब एक घन्टाको पानीमुनिको यात्रा गरेर गुफामा पुगे ।
ग्रेसियाले बताएअनुसार गुफाभित्रको च्याम्बरमा पुगेर विभिन्न नमुना संकलन गर्न उनीहरु दुबैजना अलग–अलग दिसामा गए । तर, ग्रेसियाले फर्केर हेर्दा आफू आएको बाटो पत्ता लगाउन प्रयोग गरिने नाइलनको मसिनो डोरी कतिखेर चुँडियो थाहा पाएनन् । शरीरबाट उक्त नाइलनको डोरी चुँडिएपछि दुबैजनाले आफू आएको बाटो बिर्सिए । ग्रेसिया भन्छन्–‘हामीले बाटो पत्ता लगाउने धेरै कोसिस गरेका थियौं तर सफल हुन सकेनौं ।’ अक्सिजन बिस्तारै सकिँदै थियो । ग्रेसिया जियोलोजिकल विषयका शिक्षक भएकाले उनलाई पानीभित्रको त्यस्तो गुफामा हावा भरिएको क्षेत्र (एअर पकेट) हुने ज्ञान थियो । तर, दुबैजनालाई उक्त क्षेत्र निकै अप्रयाप्त थियो ।
यहीबीच उनका साथी मस्कारोले बिना ‘गाइडलाइन’ आफू आएको बाटो पत्ता लगाउने भनेर निस्किए । त्यसपछि ग्रेसियाले उक्त च्याम्बरभित्र पाइने ‘एअर पकेट’ खोज्न थाले । ८० मिटर लम्बाई र २० मिटर चौडाई रहेको एउटा च्याम्बर फेलापारे र त्यसको माथिल्लो भागमा पिउनयोग्य पानी र ‘एअर पकेट’मा अक्सिजन हुनसक्ने विचार गरेर त्यतै लागे । उनी भन्छन्–‘मैले एअर पकेट त फेलापारें तर केही घन्टापछि कार्बनडाइअक्साइड बढ्न थाल्यो, मैले मेरो टाउको बिस्तारै दुखिरहेको अनुभव गर्न थालें ।’
सामान्यतया पृथ्वीमा पाइने अक्सिजनमा ०.०४ प्रतिशत कार्बनडाइअक्साइड हुने गर्दछ भने पानीभित्रको ‘एअर पकेट’मा ५ प्रतिशत कार्बनडाइअक्साइड हुने गर्दछ । ग्रेसियाले आफ्नो साथी मस्कारो पुगेर आफूलाई खोज्न आएको कल्पना गर्दै बसेका थिए । करिब ७ घन्टापछि उनले पानीमा केही उज्यालो देखेको र आवाज सुनेको बताए । तर, कोही आएनन् । ग्रेसियाको हालत खराब भइसकेको थियो । उनले एक घन्टाअगाडि उज्यालो र मान्छेको आवाज सुनेको तर नभेटेपछि कोही खोज्न आए कि भन्ने सोचले आफूले सामान छाडेको ठाउँमा सकी–नसकी त्यतै आए । जब उनी त्यहाँ पुगे, आफ्नो आँखाअगाडि ‘लाइट’ बलेको दखे । ग्रेसियाले हेल्मेट देखेको र आफ्नो मुखमा अक्सिजनको मास्क लागेको थाहा पाए । त्यसपछि उनी होसमा आउँदा अस्पतालको शैय्यामा थिए ।उनलाई उद्धार गर्न आउने बर्नेट क्लेमर उनकै पुरानो साथी थिए । क्लेमर भन्छन्–‘ग्रेसियालाई जीवितै उद्धार गर्न सकिन्छ भनेर सोचेको थिइनँ ।’ उनकाअनुसार त्यतिखेर ग्रेसियाको स्वास्थ्य निकै नाजुक थियो । बिनाअक्सिजन ८ घन्टा एक्लै, त्यसपछि बेहोस भएपछि उनलाई त्यहाँबाट बाहिर निकाल्न करिब ८ घन्टा लाग्यो । उनको शरीरको तापक्रम ३२ डिग्री सेल्सियस थियो ।
१५ अप्रिलमा पानीभित्र पसेका ग्रेसियालाई बाहिर निकाल्दा १६ अप्रिल भइसकेको थियो । उनी भन्छन्–‘२४ घन्टासम्म मैले अस्पतालमा शुद्ध अक्सिजन लिएपछि ठीक भएँ । मलाई उद्धार गरिएको भिडियो भोलिपल्ट टेलिभिजन प्रसारणमा हेरेपछि म रोएको थिएँ ।’ ग्रेसिया फेरि त्यही गुफामा जाँदैछन्, जहाँ उनी लगभग मत्युको मुखमा पुगेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]