अमेरिकाले सिरियाली विपक्षी समूहलाई सहयोग नगर्ने
काठमाडौं, ५ साउन । अमेरिकाले सिरियामा राष्ट्रपति बसार अल असद विरुद्ध लडिरहेका विपक्षी लडाकु समूहलाई सहयोग कटौती गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सिरीयाली विपक्षी समूहलाई अमेरिकाले गर्दै आएको सहयोग रोक्न लागिएको हो । अमेरिकी जासुसी संस्था सिआईएले सिरीयाली विपक्षी समूहलाई दिँदै आएको तालिम र सैन्य सामग्री तथा उपकरण सहयोग कटौती हुने भएको हो ।
यसले सिरियाली राष्ट्रपति असदलाई प्रत्यक्ष रुपले फाइदा पुग्नेछ भने सिरीयाली सत्ताको निकट सहयोगी मानिने रुसलाई रणनीतिक फाईदा पुग्नेछ । रुसलाई खुशी पार्न ट्रम्प प्रशासनले यस्तो निर्णय गरेको जानकारहरुले बताएका छन् ।
सिरियाली शासक असदविरुद्धको आन्दोलनमा सघाउन सन् २०१३ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पालामा तालिम तथा सैन्य सहयोग कार्यक्रम सुरु गरिएको थियो । सिरीयाली विपक्षी समूहलाई अमेरिका लगायतका पश्चिमाहरुको साथ रहँदै आएको छ भने सरकार पक्षलाई रुस, ईरानलगायतका मुलुकको साथ रहँदै आएको छ । – एजेन्सी