अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्य प्रति सांसदहरुको गुनासो
काठमाडौं, ८ साउन । संसदको सुशासन समितिका सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक तहको भ्रष्टाचार र नीतिगत रुपमा हुने गरेका भ्रष्टाचारलाई अनुसन्धानको दायरामा ल्याउन नसकेको गुनासो गरेका छन् । माओवादी केन्द्रका सांसद जनकराज जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमा राजनीतिक तहको भ्रष्टाचार नसमेटिएको भन्दै समितिका सदस्यहरुको काम, कारवाही पनि पूर्वाग्रही भएको बताए ।
सांसदहरुले मुलुकमा नीतिगत भ्रष्टाचार चुलिँदै जाँदा समेत त्यसलाई समेट्ने प्रयास अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्न नसकेको टिप्पणी गरे ।
समितिका सदस्यहरुले अख्तियारले कतिपय अवस्थामा भ्रष्टाचार जस्तो मुद्दालाई सतही रुपमा लिँदा सफल नहुने गरेको बताए । कांग्रेस सांसद नगेन्द्र कुमालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानको कामलाई सतर्कतापूर्वक अघि बढाउन नसकेको आरोप लगाए ।
समितिले भ्रष्टाचार हुनुअघि नै भ्रष्टाचार नियन्त्रणका लागि सक्रिय हुन आयोगलाई निर्देशन पनि दिएको छ । सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफदेही र आवश्यक रणनीति तय गर्न त्यसको वार्षिक प्रतिवेदनमाथि छलफल गरेको हो ।