प्रधानमन्त्री शरीफ पदमा बस्न अयोग्य
काठमाडौ, १३ साउन । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरीफलाई पनामा लिक्स मामिलामा दोषी ठहर गर्दै प्रधानमन्त्रीको कुर्सीमा बसिरहन अयोग्य ठहर गरेको छ। सर्वोच्च अदालतमा न्यायाधीश एजाज हसन, न्यायाधीश एजाज अफजल, न्यायाधीश सइद शेख, आसिफ सइद खोसा र न्यायाधीश गुलजार अहमदको पाँच सदस्यीय इजलासले प्रधानमन्त्री शरीफलाई दोषी ठहर गरेको हो ।
यसमा न्यायाधीश एजाज हसन, इजाज अफलज र न्यायाधीश सइद शेख रहेको एउटा अलग इजलासमा निर्णय प्रक्रियाको निगरानीको जिम्मेवारी पनि दिइएको थियो । न्यायाधीश खोसा र न्यायाधीश गुलजार पनामाको सुरुवाती निर्णयमा प्रधानमन्त्री नवाज शरीफलाई पदमा बस्न अयोग्य ठहर गरेका थिए । अन्य तीन न्यायाधीशले भने यो घटनाको थप अनुसन्धानको आदेश दिएका थिए । अदालतको प्रारम्भिक फैसलासँगै संयुक्त छानविन समिति गठन गरिएको थियो । जसले १० जुलाईमा आफ्नो रिपोर्ट दिएको थियो । विपक्षी पार्टी पाकिस्तान तहरिक–ए–इन्साफका अध्यक्ष इमरान खान पनामा केसमा याचिका दायर गर्नेमध्येका एक हुन् । इमरान खानले केही दिनअघि यो मुद्दाको फैसला चाँडो गर्न अदालतसँग अपिलसमेत गरेका थिए ।- एजेन्सी