विश्व आदिवासी दिवसका दिन सार्वजनिक बिदा दिन सांसदको माग
काठमाडौं, २५ साउन । व्यवस्थापिका–संसदको बुधबारको बैठकको विशेष समयमा नेपाली कांग्रेसका तप्तबहादुर विष्टले सुर्खेतको भट्टेघारीमा आगोलागीले हालसम्म १५ घर जलेर नस्ट भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । सो घटनाकाबारेमा छानबिन गर्न उनले सरकारसित माग गर्दै अस्थायी शिक्षकका माग पूरा गर्न आग्रह गरे । नेकपा एमालेका भीमबहादुर रावलले ‘भियना सम्मेलन र संयुक्त राष्ट्रसंघको बडापत्रको मान्यताअनुरुप देश चल्नुपर्छ, यसतर्फ सरकार गम्भीर बन्नुपर्छ’–भने । उनले हालै भारतीय वाणिज्य दूतावासका कन्सुलरबाट वीरगन्जमा भएको क्रियाकलाप खेदजनक रहेको बताए ।
नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले विश्व आदिवासी तथा जनजाति दिवसका दिन सार्वजनिक बिदा दिन माग गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका दीननाथ गिरीले वर्तमान सरकारले सुशासन कायम गर्न तथा भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको आरोप लगाए । राष्ट्रिय जनता पार्टी नेपालका सांसद बृजेशकुमार गुप्ताले सातओटै प्रदेशमा एक/एकओटा मेडिकल कलेज स्थापना गर्ने सरकारको नीति कहाँ पुग्यो भन्ने प्रश्न गर्दै २ नम्बर प्रदेशमा मेडिकल कलेज बर्दिबासमा बनाउने प्रस्ताव अव्यावहारिक रहेको बताए ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले कृषिप्रधान देशमा पशुपालनतर्फ कृषकको आकर्षण बढाउने नीति सार्वजनिक गर्न माग गरे । राष्ट्रिय जनमोर्चाका मीना पुनले भारतले सुनौली भन्सार कार्यालयबाट नेपालतर्फ सामान पैठारी गर्न अवरोध गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले प्रधानमन्त्रीको भारत भ्रमणकाबारेमा सदनलाई जानकारी गराउन माग गरे ।
शून्य समय
यसैगरी, सदनको बुधबारको बैठकको शून्य समयमा सांसदहरुले वर्षात्ले देशभरिका राजमार्गलाई क्षति पुर्याएको, काठमाडौंभित्रका सडकमा बनेका खाडल पुर्न प्रधानमन्त्रीबाट दिएको निर्देशन पालना नभएकोतर्फ सरकार र सदनको ध्यानाकर्षण गराए ।
उनीहरुले कोसी ब्यारेजको पानी सप्तरीको गोबरगाडामा पसेको, मंगलबार राति कास्कीका विभिन्न स्थानमा पहिरो गएको, चिकित्सा विधेयक सदनमा प्रस्तुत् गर्न, अस्थायी शिक्षकका माग पूरा गर्न पनि माग गरेका थिए ।
सांसदहरुले निकट भविष्यमा प्रधानमन्त्रीबाट हुन लागेको भारत भ्रमणकाबारेमा सदनसमक्ष जानकारी गराउन, भूकम्पपीडितलाई सरकारले दिने भनेको राहत तथा सुविधा शीघ्र प्रदान गर्न पुनःनिर्माण प्राधिकरणको ध्यानाकर्षण गराएका थिए ।
यसरी आफ्नो धारणा राख्ने सांसदहरुमा शिवराज चौधरी, शिवलाल थापा, सकलदेव सुतियार, सीतादेवी गिरी ओली, सिन्धुजलेसा बुढाथोकी, सीता नेपाली, श्रीप्रसाद जगेबु, हर्कबोल राई, हितराज पाण्डे, ज्ञानुदेवी गैरे थिए । – रासस