ट्राफिक व्यवस्थापन अस्तव्यस्त

२०७४ श्रावण ३१ गते, मंगलवार

काठमाडौं, ३१ साउन । काठमाडौं उपत्यकामा सवारी साधनको संख्या बढ्दो क्रममा छ । सवारी साधनको चाप दिनदिनै बढ्दै गएपछि सडकको अवस्था भने सुधार हुन सकेको छैन । त्यही कारण दिनदिनै ट्राफिक व्यवस्था अस्तव्यस्त बन्दै गएको छ । यातायात व्यवस्था विभाग बाग्मती अञ्चलमा मात्र १० लाख ४२ हजार ८ यस ५६ सवारी साधन दर्ता भएका छन् । तीमध्ये ६० हजार सार्वजनिक सवारी साधन छन् भने ८ लाखको हाराहारीमा दुई पाङ्ग्रे सवारी दर्ता भएका छन् । कार, ट्रक, मीनी ट्रकलगायतका सवारी साधन १ लाख ६० हजारको हाराहारीमा दर्ता छन् । उपत्यका बाहिर दर्ता भएका सवारी साधन पनि काठमाडौं उपत्यकामा त्यत्तिकै गुड्छन् । काठमाडौं उपत्यकामा दैनिक करिब १० लाख सवारी साधन गुड्ने गरेको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डे बताउँछन । तर सडकको अवस्थाले त्यति सवारी साधनको भार थेग्न नसक्ने पाण्डेको भनाइ छ । सवारी साधनको भार बढ्दै जाँदा पनि सडकको अवस्था सुधार हुन नसक्ने उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने गरेको छ ।घण्टौं लामो सवारी जाममा दिनदिनै फस्नुपर्ने बाध्यता राजधानीबासीका लागि अब नौलो हुनै छाडेको छ । यसले शहरको सौन्दर्यमा र्‍हास त ल्याएको छ नै महानगरबासीमा हिनताबोधसमेत हुन थालेको छ ।
बढ्दो ट्राफिक जामको समस्या समाधान गरी व्यवस्थापनको कार्य चुस्तदुरुस्त पार्न यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रयास नगरेका होइनन् । उनीहरुले २० वर्ष पुराना सवारी साधन हटाउने, ट्रक, मिनी ट्रकलगायतका सवारी साधनलाई निश्चित समयमा मात्र चलाउन दिने जस्ता नियम ल्याए पनि उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बन्न सकेको छैन ।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सरकारले पनि पहल शुरु गरेको छ । मनलाग्दी सवारी साधन खरिद गर्ने प्रवृत्तिलाई नियन्त्रण नगरेसम्म यस्ता समस्याबाट उन्मुक्ति पाउन नसकिने बताउँछन् गृहमन्त्री जनार्दन शर्मा । उपत्यकामा सार्वजनिकभन्दा पनि निजी सवारी साधनको चाप बढ्दो छ । २० वर्ष पुराना सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइए पनि निजी सवारी साधनमा भने अझै रोक लाग्न सकेको छैन । त्यसले पनि ट्राफिक जामको समस्या बढ्दै गएको छ । तसर्थ सरकारले निजी सवारी साधन खरिद गर्ने प्रवृत्तिलाई न्यूनीकरण गरेर ठूलो सार्वजनिक सवारी सञ्चालनको व्यवस्था गरी पूर्वाधार विस्तारमा जोड दिए मात्र राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त पार्न सकिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]