पत्रकार महासंघद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

२०७४ भाद्र ३ गते, शनिबार

काठमाडौं, ३ भदौ । नेपाल पत्रकार महासंघको आइतबारदेखि काठमाडौंमा हुने २५ औं महाधिवेशको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । प्राध्यापक चिरञ्जीवी पौडेल संयोजकत्वको निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिका अनुसार आज १० बजे मतदाताको नामावली प्रकाशन गरिएको छ । मतदाता नामावलीमाथि दाबी विरोध गर्ने समय आजै १२ बजेसम्मका लागि छुट्याइएको छ । मतदाताको अन्तिम नामावली प्रकाशन आजै ४ बजे गरिने निर्वाचन समितिले जनाएको छ ।
महासंघको नयाँ नेतृत्वका लागि उम्मेदवार बन्न चाहनेले उम्मेदवारी दर्ता गर्ने समय भोलि दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म छुट्याइएको छ । अन्तिम नामावली प्रकाशन भोलि दिउँसो पौने ४ बजे हुनेछ । उम्मेदवार उपरको दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिन चाहनेका लागि भोलि अपराह्न पौने ४ बजेदेखि १ घन्टाको समय छुट्याइएको छ । उम्मेदवारको अन्तिम नामावली भोलि बेलुका ५ बजे प्रकाशित गर्ने निर्वाचन समितिले जनाएको छ । महासंघको नयाँ नेतृत्वका लागि सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । मतगणना मतदान सकिएलगत्तै गर्ने कार्यतालिकामा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]