कोशी व्यारेजमा खतराको संकेत यातायात बन्द
काठमाडौं, २५असार । सप्तकोशीमा पानीको बहाब बढेपछि कोशी व्यारेजमा खतराको संकेत गर्दै रातो झण्डा राखिएको छ भने सवारी आवागमनमा रोक लगाइएको छ । लगातारको बर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको हो । पूर्वी पहाडी जिल्लाहरुमा अविरल पानी परेपछि नदीमा पानी बढेको हो ।
सामान्यतया सप्तकोसी नदीमा पानीको बहाव एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको संकेत दिइन्छ । आइतवार रातिदेखि ह्वात्तै बढेको पानीको बहाव आज विहान सात बजे एक लाख ९३ हजार ३ सय ९५ क्यूसेक पुगेको हो । पानीको बहाव बढेपछि अहिले ब्यारेजका ५६ वटा ढोका मध्ये २६ वटा खोलिएका छन् ।
आइतबार राती सप्तकोशीमा पानीको बहाव यो बर्षकै उच्च २ लाख ४८ हजार क्यूसेक पुगेको थियो । पानीको बहाव आइतबारभन्दा केही घटेपनि नदीले सुनसरीको प्रकाशपुर र राजावास क्षेत्रका केही स्थानमा कटान थालेको छ । २०६५ साल भदौ २ गते सप्तकोशीले कटान गरी सुनसरीका हरिपुर, श्रीपुर, पश्चिम कुसाहा, लौकही गाविसमा ठुलो जनधनको क्षति गरेको थियो