नेपाल र भारतबीच ८ समझदारी
काठमाडौं, ८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नरेन्द्र मोदीको उपस्थितिमा ८ ओटा विषयका समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यसअघि, हैदरावाद हाउसमा देउवा र मोदीबीच झन्डै ३० मिनेट एक्ला–एक्लै कुराकानी भए लगत्तै देउवा र मोदीको उपस्थितिमा द्विपक्षीय वार्ता भएको थियो । त्यसक्रममा सम्झौता गरिएको हो । पुनःनिर्माणसम्बन्धी चारओटा विषयमा समझदारी गरिएको छ । जसमा भूकम्पपछिको पुनःनिर्माण लागि भारतले घोषणा गरेको एक अर्ब रुपैयाँको प्रयोगबारे उल्लेख छ । अर्कोमा स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदा पुनःनिर्माणसम्बन्धी रहेको छ । चार समझदारी २५० बिलियन अर्थात् २ खर्ब २० अर्ब रुपैयाँको बराबरको रहेको छ । नेपाल र भारतबीच मेची पुल पुनःनिर्माण, लागुऔषध नियन्त्रण, नापतौल र चार्टर एकान्टेनसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ ।
यसैगरी, सोहीक्रममा नेपालमा आगामी हिउँदको समयमा हुने लोडसेडिङ अन्त्य गर्न भारतले दिने भनिएको १८० मेगावाट विद्युत् नेपाल ल्याउन दुई देशबीच अन्तरदेशीय प्रसारणलाइनको दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गरे । प्रधानमन्त्रीद्वय देउवा र मोदीले रिमोटमार्फत् हैदरावाद हाउसबाट कटैया–कुशवा र रक्सौल–परवानीपुर प्रसारणलाइनको उद्घाटन गरेका हुन् । ती दुई प्रसारणलाइन केही महिनापहिले निर्माण सम्पन्न भएर परीक्षणसमेत भइसकेको छ ।