राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालिन बैठक बस्दै
काठमाडौं, १४ भदौ । उत्तर कोरियाले जापानको हवाई क्षेत्र हुँदै मिसाइल परीक्षण गरेपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले आपतकालीन बैठक आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मिसाइल परीक्षणले दिएको चुनौतीको सामना गर्नेलगायतका विषयमा छलफल गर्न सुरक्षा परिषद्को आपतकालीन बैठक आह्वान गरेका हुन् । उनले उत्तर कोरियालाई अन्तर्राष्ट्रिय नियम पालना गर्न आग्रहसमेत गरेका छन् । बैठकअघि संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले उत्तर कोरियामाथि अब गम्भीर कारबाही गर्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले उत्तर कोरियाली कदमलाई ‘अति’को संज्ञा दिइन् । उत्तर कोरियाले मंगलबार जापानको होकाइदो द्वीपमाथिबाट क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले गरेको नयाँ मिसाइल परीक्षणले उसको छिमेकी जापान र संयुक्त राष्ट्रसंघको अपमान गरेको आरोप लगाएका छन् । उनले उत्तर कोरियाविरुद्ध प्रयोग गर्न सकिने सबै विकल्पका बारेमा विचार गरिरहेको जानकारी दिए ।- एजेन्सी