‘ जनसत्तालाई रकम छुट्टाउन बाध्य पारिन्छ ‘

काठमाडौँ, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निकायको कार्यालयवाट आफ्नो जनसत्तालाई रकम छुट्टाउन दबाब दिने खालका कार्यक्रमहरु गर्दै जनप्रतिनिधिहरुलाई राजीनाामा दिन वाध्य पार्ने उदघोष गरेको छ । नेपाल कम्युनिष्ट पार्टी पोखरा लेखनाथ महानगर कमिटीद्वारा आयोजित भेला एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त पार्टीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले सो उदघोष गरेका हुन् । उनले एकीकृत जनक्रान्ति जनयुद्धको निरन्तरता र थप विकसित रुप भएको बताउदै पार्टीले माक्र्सवाद लेनिनवाद र माओवादलाई त्याग नगरेको पनि जिकिर गरे ।
अब नेपालमा क्रान्ति हुन्छ र भन्ने विषयमा आशंका नगर्न पार्टी कार्यकर्ताहरुलाई आव्हान गर्दै नेता पुनले अब पार्टीले अवलमवन गरेको एकीकृत जनक्रान्तिमा समाहित हुने कि नहुने भन्ने बारेमा निर्णय गर्ने बेला आएको बताए ।
साम्राज्यवादीहरुले कम्युनिष्ट पार्टीलाई समाप्त गर्न संशोधनवादको हलला चलाउने, दमन गर्ने र कम्युनिष्ट पार्टीभित्रै घुसपैठ गराउने गरेको भनाई राख्दै नेता पुनले नेपाली कम्युनिष्ट आन्दोलनमा पनि घुसपैठ गराइएको र त्यसको उदाहरणका रुपमा जनयुद्ध हाँकेका डा. बाबुराम भट्टराईले कम्युनिष्ट पार्टीको झण्डा नै फालेर हिंडेको दृष्टान्त प्रस्तुत गरे ।
उनले नेपाल कम्युनिष्ट पाटीमा आउने र जानेको चर्चा असामान्य घटनाको रुपमा प्रस्तुत गर्दै पुनले आउनेले देश र जनताको लागि बलिदानी दिनुपर्ने र जानेले आफ्नो आधारभूत वर्गलाई धोखा दिने बताए ।
मुलुकमा प्रतिक्रियावादी सत्ताले आगामी दिनहरुमा पनि गर्न लागेका चुनावहरुलाई खारेजी अभियानकै रुपमा सञ्चालन गरिने जानकारी दिंदै उनले चुनाव खारेजी अभियानका बाबजूद स्थानीय निकायमा आएका जनप्रतिनिधिहरुलाई राजीनामा दिन वाध्य पार्ने खालका कार्यक्रमहरु गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।
नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो ईञ्चार्ज सावित्री दूरा आस्थाले संसदीय व्यवस्थाविरुद्ध पार्टीले सञ्चालन गरेको भण्डाफोर अभियानमा सकृय सहभागी हुन आफ्ना नेता तथा कार्यकर्ताहरुलाई आव्हान गर्दै यही क्रममा गाउँ–गाउँ र टोल–टोलमा पुगेर स्थानीय जनतालाई एकीकृत जनक्रान्तिका बारेमा जानकारी गराएर संगठन निर्माण कार्यलाई तीब्रता दिन अनुरोध गरिन् ।
आजको भेलाले निकट तिहार लगत्तै नेपाल कम्युनिष्ट पार्टी पोखरा लेखनाथ महानगर कमिटिको जिल्ला भेला सम्पन्न गर्न वर्तमान जिल्ला सेक्रेटरी नन्दलाल तिवारी जगनको नेतृत्वमा एक भेला आयोजक समिति गठन गरेको छ भने वडा–वडामा संगठन निर्माणका लागि कमाण्डरहरु तोकेको छ ।