स्वास्थ्यमन्त्रीले महंगा विमानहरुमा यात्रा गरे पछि …

२०७४ आश्विन १४ गते, शनिबार

काठमाडौं, १४ असोज । सरकारी कामको सिलसिलामा महंगा निजी विमानहरुबाट यात्रा गरेकोमा व्यापक आलोचना भएपछि अमेरिकी स्वास्थ्यमन्त्री टम प्राइसले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले प्राइसको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै ह्वाइट हाउसले डन जे राइटलाई कार्यवाह स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको जनाएको छ । ट्रम्पले प्राइसबाट आफू ’निराश बनेको’ प्रतिक्रिया दिएका छन् ।
विद्यमान नीतिहरुमा जोड दिंदै ह्वाइट हाउसका बजेट प्रमुखले उच्च अधिकारीहरुलाई समेत सरकारी कामको सिलसिलामा व्यापारिक विमानहरुबाट यात्रा गर्ने विकल्प एकदम थोरै भएको सन्देशसहित कर्मचारीहरुलाई पत्र पठाएका छन् ।
कामको सिलसिलामा महंगो यात्रा गरेको भन्दै ट्रम्पको मन्त्रिपरिषद्का अरु तीनजना सदस्य पनि निगरानीमा रहेका छन् । गत मे महिनायता २६ वटा निजी उडान गरेर राज्यकोषको ४ चार लाख डलर खर्च गरेकोमा प्राइसले क्षमायाचना गरेका छन् ।
यसअघि राष्ट्रपति ट्रम्पले सरकारी कामको सिलसिलामा प्राइसबाट यात्राका लागि गरिएका खर्चबाट आफू ’खुशी नभएको’ वताउदै आएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]