एनआरएनएको अध्यक्षमा भट्ट

२०७४ आश्विन ३१ गते, मंगलवार

काठमाडौँ , ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । सोमबार भएको मतदानमा भट्टले प्रतिस्पर्धी जमुना घले गुरुङलाई दोब्बर मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् । भट्टले ११ सय ९७ मत प्राप्त गर्दा गुरुङले भने ५ सय ८४ मत मात्र प्राप्त गरिन । १८५४ मध्ये १७८८ मतदाताले मतदान गरेका थिए ।
उपाध्यक्षमा कुमारप्रसाद पन्त र कुल आचार्य विजयी भएका छन् । दुई उपाध्यक्षको लागि ६ जनाले उम्मेदवारी दिएका थिए । त्यसैगरी महिला उपाध्यक्ष सपिला राजभण्डारी विजयी भएकी छन् । महासचिवमा डा. बद्रि केसी पुनः निर्वाचित भएका छन् ।
त्यसैगरी सचिवका लागि भएको प्रतिस्पर्धामा डबरबहादुर क्षेत्री र जानकी गुरुङ विजयी भएका छन् । कोषध्यक्षमा दोस्रो पटक हिक्मतबहादुर थापा बिजयी भएका छन् भने सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा बिजयी भएको निर्वाचन समितिले जनाएको छ । महिला संयोजकमा भूमादेवी लिम्बु निर्वाचित भएकी छन् भने युवा संयोजकमा सुदन थापाले बाजी मारेका छन् ।
सन् २००३ मा स्थापना भएको एनआरएनमा २१ जनाको कार्यसमिति हुन्छ । उक्त समिति भित्र छ वटा क्षेत्रिय, महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्याबस्था छ । एनआरएनएले ७८ ओटा देशमा संजाल विस्तार गरेको बताएपनि सम्मेलनमा ६० देशका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रियाहरु

[anycomment]