‘नेपालको राष्ट्रियतामा सर्वाधिक खतरा’

काठमाडौं, १० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज धर्मेन्द्र बास्तोलाले नेपालको राष्ट्रियता सर्वाधिक खतरामा रहेको बताएका छन् । काठमाडौँमा आयोजित राष्ट्रियता, जनतन्त्र र नेपाली प्रेस विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता बास्तोलाले सो कुरा बताएका हुन् । उनले नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाका लागि देशभक्त नेपाली जनता र नेपालले सञ्चार माध्यम एक भएर लाग्नुपर्ने बताए ।
यसैगरी वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपालको राष्ट्रियताको रक्षाका लागि साना लगानीका सञ्चार माध्यम निरन्तर क्रियाशील हुनुपर्ने बताए । नेपालको राष्ट्रियता रक्षा गर्न नेपाली नागरिक सधैँ चनाखो रहेको र विगतमा देशभक्त राजादेखि पार्टी नेता र जनताको सजगताका कारण पनि नेपाल सिक्किम र भुटान जस्तो भारत अधीनस्थ नभएको उनको तर्क थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका निवर्तमान अध्यक्ष बोर्णबहादुर कार्की, परराष्ट्र मामिला विज्ञ हिरण्यलाल श्रेष्ठ, क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रभात चलाउनेलगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।