खरका छाना विस्थापन गर्न लगत संकलन शुरु

२०७४ कार्तिक १७ गते, शुक्रबार

काठमाडौं, १७ कात्तिक । पाल्पा रामपुर नगरपालिकाले खरका छाना भएका घरलाई विस्थापन गर्ने लक्ष्यका साथ लागत संकलन गर्न थालेको छ । नगरपालिकाले कात्तिक ८ गतेदेखि त्यस्ता घर हुनेहरुलाई अनुदान दिनका लागि तथ्याङ्क संकलनमा जुटेको हो । वर्षातको समय पानी चुहिने र वर्षेनी छाना राख्नुपर्ने बाध्यतासँग खर्चिलो रहेकाले नगरपालिकाले यस वर्ष खरका छाना हटाउन प्रोत्साहनस्वरुप अनुदान दिन थालेको हो । एक हप्ताको अवधिमा २१५ घर खरका छाना विस्थापनका लागि अनुदान माग गर्न निवेदन परेको छ ।
नगरभित्रका वडामा अझै पनि खरका छानाका घरहरु प्रशस्तै छन् । नगर प्रमुख रमणबहादुर थापाले निर्वाचनको अवधिमा खरका छाना भएका घर विस्थापित गर्ने लक्ष्यका साथ चुनावमा होमिएका थिए । सोही अनुसार खरको छानोरहित बनाउने कार्यक्रमअन्तर्गत रामपुर नगरपालिकाले यस वर्ष रु ५० लाख विनियोजन गरेको छ ।
नगरभित्रका खरका छानोका कारण यहाँका बासिन्दा दयनीय जीवन जिउन बाध्य रहेका छन् । गरिब विपन्न समुदायका मानिसलाई प्रत्येक वर्ष छानो हाल्न आर्थिक समस्या हुनेलाई यो कार्यक्रमले राहत हुने उनले बताए । ‘अहिले तथ्याङ्क संकलन भइरहेको छ,’ थापाले भने, ‘निवेदन माग गरेको छोटो समयमा नै धमाधम निवेदन परेको छ ।’ नगरपालिकाले कात्तिक मसान्तसम्म निवेदन माग गरेको छ । २०६८ सालको जनगणनाअनुसार रामपुर नगरपालिकाभित्र झण्डै एक हजार ५०० घरधुरी खरको छानोका घर छन् । निवेदनका आधारमा प्राविधिकको सल्लाहअनुसार कर्कटपाताले छाउने बनाएपछि अनुदानको कर्कट वितरण हुने रामपुर नगर कार्यपालिका सचिवालय प्रमुख कपिल बहादुर खाँणले बताए । खाँणका अनुसार यस कार्यक्रमका लागि घरको मूल छानो नै खरको हुनुपर्नेछ । नगरपालिका–६ का अध्यक्ष तथा प्रवक्ता हुमनाथ न्यौपानेले वडा र नगरपालिकाको कार्यालयमा अनुदानका लागि निवेदन दिने व्यवस्था मिलाएको बताए । स्थानीयवासीले निवेदन र नागरिकताको प्रतिलिपि र घरको जग्गाको लालपुर्जाको प्रतिलिपि संकलन गरिरहेको उनले बताए । खरका छाना विस्थापन गर्ने कार्यक्रम आगामी वर्ष पनि निरन्तर रहने न्यौपानेले बताए । पछिल्ला वर्ष ग्रामीण क्षेत्रका मानिसले समेत पक्की घर निर्माण गर्न थाले पनि गरिब समुदायका मानिस अझै खरका छानामुनि कष्टकर जीवन बिताउन बाध्य छन् ।

प्रतिक्रियाहरु

[anycomment]