गोली प्रहारवाट २६ को मृत्यु, २४ घाइते

२०७४ कार्तिक २० गते, सोमबार

काठमाडौं, २० कात्तिक । अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । बन्दुकधारीको गोली लागेर अन्य २४ जना घाइते भएका छन् ।
टेक्ससको विल्सन काउन्टीस्थित चर्चमा नियमित प्रार्थनाका लागि जम्मा भएका मानिसका बीचमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चर्चमा पसेका बन्दुकधारीले स्थानीय समय अनुसार आइतबार बिहान साढे ११ बजे बन्दुक चलाएको प्रहरीले जनाएको छ ।
टेक्ससका गभर्नर ग्रेग एबोटले टेक्ससको इतिहासमै यो सबैभन्दा ठूलो र दुःखद गोलीकाण्ड भएको बताएका छन् । अन्धाधुन्ध गोली चलाउने बन्दुकधारी घटना लगतै जवाफी कारवाहीमा मारिएको उनले बताए । गाडीमा चढेर भाग्दै गरेका आक्रमणकारी प्रहरीको कारवाहीमा मारिएका हुन् । घटनामा ज्यान गुमाएकाको परिचय अहिलेसम्म खुलेको छैन र उद्धार तथा छानबिनको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् । यसअघि गत हप्ता न्यूयोर्कमा एक व्यक्तिले साइकल लेनमा ट्रक चलाउँदा ८ जनाको मृत्यु भएको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]