लालसिपाहीहरू उठ – वैरागी जेठा

२०७४ कार्तिक २८ गते, मंगलवार

मसँग सहयोग माग्नेहरू
मेरा कुरा सुन
एक मुठ्ठी स्वास माग्नेहरू
लालसिपाही भएर उठ
तिम्रो चुनावी सभाहरूमा
ढाँक्रे यात्री बनेर
म हिँड्नु पर्छ भने
क्रान्तिका बेलुन पड्कनु पर्छ
विलौनेघारीहरूमा
स–साना नानीहरूले पनि
तिम्रो बाटो हिँड्नु छ भने
उनीहरूका पढाईका शुल्क घट्छ कैल्ये
स्वास्थ्य शुल्क निःशुल्क कैल्ये
कामरेड महोदय,
चामलको मूल्य कति हुन्छ अब !
सेकेण्ड सेकेण्ड
संकुचित मन लिएर
तिम्रो जग कैल्येसम्म बस्छ हँ !
यता भनिरहेछौ
लाल सिपाहीहरू उठ
क्रान्तिको बिस्कुन भएर
कति सुकिरहौँ घामका वाफहरूमा
बाटाहरू अवरोध छन्
ढलबाट बालकहरू हराईरहेछन्
धूलो उडेर
शहरका घरहरू चिन्न नसक्ने भएकाछन्
कहाँबाट ,उडिरहेछन् मैला धूलाहरू
मान्छेहरू दिउँसै हराइरहेछन्
बसका यात्रीहरू
स्वास फेर्न नसकेर छट्पटिएका छन्
खै कहाँ तिम्रो कानून
अनि प्रशासन
म मुख छोपेर रुनु पर्ने
कस्तो लोकतन्त्र !
पेट भर्न पैसा चाहिन्छ कमरेड
पैसा विना ,अब हिँड्न सकिन्न
कुनै यात्राहरू
पैसा विना लालसिपाही कसरी टिक्ला
उपनि बाँच्नै पर्ला
एउटा युद्ध जित्न !
ज्यापूदाईको जमिन खोसेर
कंक्रीटका जङ्गल बनाउँनेहरूसँग
कतिदिन हात थाप्छौ
कमरेड !
मेरा मान्छेहरू
म शिरझुकाउँने छैन
म फाँसीको लागि तयार भइसकेँ
तिमीहरूले हान भन्यौ ,हानिदिएँ
ठोक भन्यौ ,ठोकिदिएँ
आज कोदो कूहाएझैँ कूहाउन
जेलमा राख्न आदेश दियौ
क्रान्तिकारी मित्रहरू !
यति खेर कुनै भ्रममा छैन म
संगठनको धर्म नबुझ्नेहरू
कसरी भनौँ ?
लालसिपाहीहरू उठ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार