‘प्रचण्डले पीडितहरुसँग सम्झौता गर्न मिल्दैन ‘

काठमाडौँ, २० मंसिर । सत्य निरुपण तथा मेलमिलाप आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावी प्रचारको दौरानमा बाँदरमुढे घटनाका पीडितहरुसँग गरेको सम्झौताप्रति आपत्ति जनाएको छ । आयोगका अध्यक्ष गुरुङले प्रचण्डले पीडितहरुसँग सम्झौता गर्न नमिल्ने बताउँदै आफ्नो क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको दाबी गरेका छन् ।
आफूलाई भोट हाल्ने सहमत गराउन प्रचण्डले मंसिर १७ गते पीडितहरुसँग ३ बुँदे सहमति गरेका थिए । सम्झौता भएकै दिन पीडितहरुको तर्फबाट गठित संघर्ष समितिका पदाधिकारीहरुले आफूलाई जानकारी नभएको बताएका थिए । चुनावी अभियानको क्रममा प्रचण्ड र स्थानीय कृष्ण तिवारी, मंगली पुन, विकास लामिछाने र हरि न्यूरेबीच तीन बुँदे सहमति भएको थियो ।
आयोगका अध्यक्ष गुरुङले मंगलबार जारी गरेको विज्ञप्तिमा सम्झौताल आयोेगका सम्पूर्ण कामकारबाहीमा नै नकरात्मक प्रभाव पार्ने र पीडितको आयोगप्रतिको विश्वास र सुरक्षा सम्बन्धी विषयमा गम्भिर चुनौति थपिदिएकोे उल्लेख छ ।
‘आयोगले प्रदेशस्तरमा समेत आफ्नो मुकाम खडा गरी स्वतन्त्र र निश्पक्ष रुपमा छानविन बढाइरहेको सन्दर्भमा कुनै राजनीतिक दलका तर्फबाट भएको यस किसिमको लिखित प्रतिबद्धताले आयोगको काम कारबाही प्रभावित हुने हुँदा यस्ता घटनाप्रति आयोग खेद प्रकट गर्दछ,’ आयोगकोे विज्ञप्तिमा भनिएको छ।