पत्रकारको गिरफ्तारी बिरुद्ध परेको रिटमा बिपक्षीसग जवाफ माग

२०७४ मंसिर २० गते, बुधबार

काठमाडौँ , २० मंसिर । गैर कानुनी रुपमा गिरफ्तार गरिएका आठ जना पत्रकारको रिहाइको माग गर्दै सर्वाेच्च अदालतमा परेको रिटमा तिनदिन भित्र महान्याधिवक्ताको कार्यालयमार्फत लिखीत् जवाफ पेस गर्न बिपक्षीलाई आदेश भएको छ । नेपाल पत्रकार महासंघका तर्फबाट महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले संविधानले प्रत्याभूत गरेका मौलिक अधिकारको उल्लंघन गर्दै सरकारले नै पत्रकारहरु गिरफ्तार गर्नु कानुनी राज्य विरुद्ध भएको भन्दै नेपाल सरकारलाई नै विपक्षी बनाएर रिट दायर गरेका थिए ।
बुटवलमा पक्राउ परेका नेपाल पत्रकार महासंघका जिल्ला कार्य कार्यसमिति सदस्य समेत रहेका क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य प्रकाश डुम्रे, प्यूठान भिजन मासिक पत्रिकाका पदमप्रसाद पोखरेल र जायश्वर आचार्य, कालिकोटबाट प्रकाशित हुने जनप्रभात साप्ताहिक पत्रिकाका सम्पादक कालिबहादुर महतारा र सहसम्पादक जगदिशनाथ योगीका लागि तीन फरक रिट दायर भएको थियो ।
काठमाण्डौबाट गिरफ्तारमा परेका जलजला मासिकका सम्पादक खेम थपलिया, निहीगु ज्वज्वलोप्पा नेवारी पत्रिकाका सम्पादक जितेन्द्र महर्जन र मध्याह्न दैनिकका संवाददाता दिपेशी शाहीको रिहाईको माग गर्दै सोमबार छुट्टै रिट दायर भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]