एमाले, माओवादी केन्द्र एकता शंकाको घेरामा

काठमाडौं, ८ पुस । नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता दिन प्रतिदिन शंकाको घेरामा पर्दै जान थालेको छ । नेकपा एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरुको अभिव्यक्तिलाई नियाल्ने हो भने दुई पार्टी बीच तत्काल एकता हुने कुनै छाट देखिदैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी एकता नहुने भन्दै सरकार गठन प्रक्रियालाई अगाडि बढाउनेमा जोड दिएका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकार गठन र पार्टी एकीकरण सँगसँगै हुने बताउदै आएका छन । यसरी यी दुई नेताको अभिव्यक्तिलाई आधार मान्ने हो भने यी दुई पार्टी बीच त्त्काल एकता सम्भब देखिदैन ।
यसैबीच , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा अझै समय लाग्ने बताएका छन् । उनले सरकार गठन प्रक्रियालाई अगाडि बढाउनेमा जोड दिएका छन् । शुक्रबार उपाध्यक्ष बामदेव गौतमको घरमा बसेको स्थायी समिति बैठकमा ओलीले दुई पार्टीबीचको एकता भएका कारण केही समय लाग्ने बताएको बुझीएको छ । बैठकमा ओलीले पार्टी एकता गर्ने निर्णय भइसकेकोले एकता हुने तर केही समय लाग्ने बताएका थिए । ओलीले पार्टीको नीति सिद्धान्त र विचारमा एक रुपमा आइनसकेको भन्दै त्यसले केही समय लिने बताएका थिए । एमाले बैठकले पार्टी एकतालाई भन्दा सरकार गठनलाई प्राथमिकतामा राखेको छ । नयाँ सरकार गठनको लागि वातावरण बनाउन निर्वाचन आयोग र प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।
उता माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले सरकर निर्माण र पार्टी एकता सँगैसँगै अगाडि बढाउने निर्णय गरेको छ । तर एमालेले भने पहिला सरकार गठन गर्ने अनिमात्र पार्टी एकताको गर्ने शुक्रबार बसेको स्थायी समिति बैठकले निर्णय गरेको छ । पहिला पार्टी एकता कि सरकार भन्नेीमा एमाले र माकेबीच फरक मत देखिएको छ । यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको बताएका छन् । चितवन क्षेत्र नः ३ बाट निर्वा्चित भएपछि पहिलोपटक जिल्ला आएका अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी एकता गर्न कुनै अप्ठ्यारो नभएको बताए । पार्टी एकता संयोजन समितिको बैठक केहीदिनमा नै राखेर थप अघि बढ्ने उनले बताए । राष्ट्रियसभा र सरकार गठनबारे पाँच दलमा गम्भीर छलफल भएको तर, सहमति नजुटेको उनले बताए । ‘सरकार गठनका लागि कुुनै समस्या छैन निर्वाचन आयोगले पनि तयारी गर्दैछ’, अध्यक्ष प्रचण्डले भनेका छन् ।